बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेज गर्नु पर्ने बताउनुभएको छ । प्रदेश सरकारमा धेरै विकृति तथा वेथिति देखिएकाले यसलाई खारेज नगरे देश गम्भीर संकटमा पर्ने उहांले बताउनुभयो ।
मंगलबार बुटवलमा ’संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन’को घोषणा कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सदस्य समेत रहनुभएका अध्यक्ष केसीले मुलुक संघीयता कै कारण दयनीय अवस्थामा पुगेको बताउनुभयो । ‘८ वटा जिल्ला रहेको मधेश प्रदेशमा २० जना मन्त्री छन् । प्रदेशमा बनेका मन्त्रीहरु पनि धेरै खराब व्यवहार भएका छन् । यसकारण देशलाई बचाउने हो भने प्रदेशलाई खारेज गर्नु पर्छ,’–केसीले भन्नुभयो ।
अध्यक्ष केसीले संघीयता स्वीकार गर्ने ठुला दलहरु पनि यसबाट पार लाग्दैन भन्नेमा पुगिसके पनि बाहिर बोल्न मात्रै नसकेको उल्लेख गर्नुभयो । राजनीति गर्ने भनेको कमाउन हो भन्ने भाष्य सृजना भएकाले दलहरुप्रति जनताको दृष्टिकोण राम्रो नरहेको उहांको भनाई छ ।
‘म आज मात्रै बाग्लुङबाट बुटवल आएको हो । राजनीतिप्रति जनताको यति धेरै घृणा छ । गाउँमा मान्छे नै छैन । गाडी पनि रित्तो हिड्नु पर्ने अवस्था छ,’–उहांले भन्नुभयो ।
अध्यक्ष केसीले रवि लामिछाने पटक पटक गृहमन्त्री बन्न खोज्नुको कारण सहकारी काण्डबाट बच्न रहेछ भन्ने अहिले आएर पुष्टि भएको उहांले बताउनुभयो ।
जनमोर्चाको संघीयता विरुद्धको आन्दोलनका कार्यक्रम सार्वजनिक
राष्ट्रिय जनमोर्चा रुपन्देहीले चैत्र २४ गतेदेखि ३० गतेसम्म गर्ने संघीयता विरुद्ध काठमाडौँ केन्द्रित आन्दोलनलाई सफल बनाउन विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै जनमोर्चाका रुपन्देही अध्यक्ष टानबहादुर केसीले मंसिर महिना भरी जिल्लादेखि टोलसम्मका बैठक तथा भेलाहरु गर्ने कार्यक्रम तय भएको बताउनुभयो । यस्तै उक्त आन्दोलनलाई सफल बनाउनका लागि जिल्लाव्यापी पर्चा वितरण, जनभेटघाट, भित्ते लेखन गर्नुका साथै माघ १० गतेदेखि १२ गतेसम्म जिल्लाव्यापी घुम्ति कोणसभा गर्ने कार्यक्रम तय भएको उहांले बताउनुभयो ।
यस्तै फागुन ३ गते बुटवलदेखि सुनौलीसम्म मोेटरसाइकल र्यालीको आयोजन गर्ने कार्यक्रम तय भएको अध्यक्ष टानबहादुर केसीले बताउनुभयो । अध्यक्ष केसीका अनुसार यही माघ ५ गते बुटवलमा विभिन्न प्रबुद्ध व्यक्ति, राजनीतिक पार्टी तथा संघ संस्थाका प्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकिएको छ ।
आन्दोलनको पक्षमा वातावरण बनाउनका लागि पुस २१ गतेदेखि फागुन १० गतेसम्म संङ्गठनात्मक अभियानलाई तीब्रता दिने उहांले बताउनुभयो ।