संसार पोष्ट
बुटवल, २४ साउन । ३ हजारको लोभ गर्दा बुटवलमा एकजना सरकारी कर्मचारी र एक ब्यापारी अख्तियारको फन्दामा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले राष्ट्रिय अनुसन्धान कार्यालय रुपन्देहीका अनुसन्धान सहायक बीरेन्द्र पाण्डेलाई सेवाग्राहीसँग लिएको ३ हजार नगदसहित बुटवलको ट्राफिकचोकबाट पक्राउ गरेको हो । अख्तियारको टोलीले स्थानीय ब्यापारी बीरेन्द्र बर्मालाई पनि पक्राउ गरेको छ ।
दुबै जनालाई बुटवलका एकजना व्यापारी संग भारतीय सिमाबाट सामान ल्याइदिन सहजीकरण गर्ने भन्दै ३ हजार घुस लिदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकृत सुरेश भुसालले जानकारी दिनुभयो ।