जनगुनासो पछि कृषि मन्त्री पौडेलद्वारा बुटवल बजार अनुगमन
संसार पोष्ट
बुटवल, २४ साउन । तरकारी र फलफुलमा चर्को मुल्य बृद्दि भएको र बिषादी प्रयोग भएको जनगुनासो आउन थालेपछि प्रदेश नम्बर ५ का विभागिय मन्त्रीले आफै बजार अनुगमन गर्नुभएको छ ।
कृषि, भूमि ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले शुक्रबार बुटवल क्षेत्रमा रहेका बिभिन्न तरकारी तथा फलफुल पसलको अनुगमन गर्नु भएको हो ।
तरकारी र फलफुलमा चर्को मुल्य बृद्दि र बिषादी प्रयोग भएको जन गुनासो आएपछि बजार अनुगमन गरिएको मन्त्रालयले जनाएको छ । शुक्रबार मध्यान्ह जिल्ला प्रशासन कार्यालय, बाणिज्य कार्यालय र उद्योग बाणिज्यसंघका प्रतिनिधिहरु सहित अनुगमनमा निस्केको टोलिले शुरुमा कृषि उपज केन्द्र बुटवलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा ब्यवसायीहरुसंग खरिद बिल तथा बिषादी अवशेष जांच गरेको प्रमाणपत्र नभेटिएको अनुगमन टोलीले जनाएको छ ।
अनुगमन टोलीले कृषि उपज केन्द्र संगै बुटवल क्षेत्रमा रहेका १२ वटा फलफुल तथा तरकारी पसलमा अनुगमन गरेको जनाएको छ । अनुगमनका क्रममा ६ वटा पसल बाणिज्य कार्यालयमा दर्ता नभएका, तरकारी तथा फलफुलको खरिद बिल नराखेका र बिषादी अवशेष परिक्षणको प्रमाणपत्र समेत नराखेको पाईएकाले ती पसल संचालकलाई बाणिज्य कार्यालयमा उपस्थित हुन टोलीले पत्र काटेको छ । यस्तै अनय ६ वटा पसललाई भने सामान्य चेतावनी दिएर छाडिएको छ ।
बजारमा तरकारी तथा फलफुलको मुल्य अत्यधिक बढाउने, बिषादी परिक्षण नगर्ने तथा किसानहरु ठगिने गुनासो आएपछि अनुगमन थालिएको प्रदेश ५ सरकारका कृषि, भूमि ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले बताउनु भयो ।

बाणिज्य कार्यालयका प्रमुख रुद्रप्रसाद ज्ञवालीले अधिकांस पसलहरु बाणिज्य दर्ता समेत नभएकाले कारवाहि प्रक्रिया अगाडी बढाईएको बताउनु भयो ।
मन्त्रालयले नियमित अनुगम गर्ने र नियम बिपरित कार्य गर्नेलाई कारवाहि गरिने जनाएको छ । टोलीका अनुसार कृषि उपज थोक बजार केन्द्रका सञ्चालक कलाधर पन्थीको ब्यवसायिक फर्म आशिक फ्रुट सेण्टरमा समेत कुनै आवश्यक कागजपत्र टोलीले फेला पारेन । अनुगमन टोलीका अनुसार देबेन्द्र राहुल आलु भण्डार, साधु एण्ड बिजय भेजिटेबल सेण्टर, भान्जा फ्रुट एण्ड भजिटेबल सप्लायर्स लगायतका पसलहरुमा आवश्यक कागजपत्र नभेटिएकाले पत्र काटिएको हो ।