गीतले आम दर्शक र धेरै श्रोताको मन जित्ने अपेक्षा
संसार पोष्ट
बुटवल, २१ साउन । नारीहरूको महान पर्व हरितालिका अर्थात् तीज नजिकिंदै छ । माइतीमा जाने, राम्रो लगाउने, मीठो मसिनो खाने र माईतीमा भेट भएका साथि संगतिसंग मिलेर रमाईलो गर्दै गीतसंगीतमा रमेर दुःख बिर्सने तीजको मौलिक परम्परा हो । यद्यपि पछिल्लो समय तीजको मौलिकता हराउँदै गएको छ । पर्व हुनु अगाडी नै तारे होटलमा दर खाने र डिस्को डान्समा रमाउने प्रचलन बढ्दो छ ।
पश्चिमा संस्कृतिको प्रभाव र उत्तरआधुनिकतावादले तीज पर्व निकै भड्किलो बन्दै जानुका साथै तीजमा गाइने गीतको कथावस्तु, मौलिकता र गायनशैलीमा समेत निकै परिवर्तन आएको छ ।
यस्तै गीतहरुको भीडमा नेपाली लोकसंस्कार, साँस्कृतिक पद्दति र मौलिकतालाई आत्मसाथ गरेर लोक गायिक चेतना थापाको तीज गीत “सिम सिमे पानीमा” बजारमा सार्वजनिक गरिएको छ ।
राजनीति, सामाजिक सेवा र कलाकारितालाई उनले संगसैगै अगाडी बढाएकी छन् । चेतनाको आवाजलाई संगीत क्षेत्रमा निकै रुचाईएको पनि छ । नेपाली महिलाको महान पर्व तीजले बजार तात्दै गर्दा पाल्पा रैनादेवी छहरा गाउँपालिकाकी उपाध्यक्ष समेत रहेकी चेतनाले भर्खरै बजारमा ल्याएको तीज गिती एल्बम “सिम सिमे पानी” मा उनको आफ्नै स्वर रहेको छ । गीतमा लय शब्द शिब हमालको रहेको छ ।

यस गीतको संगीत सम्योजन विश्वास नेपाल र श्रृँगार सगुन शर्माले गरेका छन् भने गीतको सम्पादन, छायाँकन र निर्देशन बिष्णु भट्टराईले गरेका छन् । गीतमा करिष्मा ढकालको अभिनय रहेको छ ।
म्यूजिक भिडियो समेत तयार भएको यो गीतमा परिवर्तित समय अनुसार चल्न दिदीबहिनीहरूलाई सन्देश दिने प्रयास गरिएको छ । यो गीत मार्फत चेलीहरुको माईती घरको मोह र मायालाई प्रष्टसंग दर्शाइएको छ । माईतीहरु प्रशस्त भएर पनि तीजमा चेलीलाई माईती घरमा नबोलाएको र लिन नआएको भनेर चेलीहरुले गर्ने गुनासोलाई पनि गीतमा सम्बोधन गरिएको छ ।
समग्रमा गीतले सामाजिक चेतना जगाउने र पश्चिमा संस्कृतिलाई परिवर्तन गरिनुपर्ने आवाज बुलन्द पारेको छ । गीतले नेपाली समाजको यथार्थ चित्रण गर्ने प्रयास गरेको देखिन्छ । गाउँपालिको उपाध्यक्षको जिम्मेवारी र ब्यस्त दैनिकी बावजुद चेतनाले कलाकारिता क्षेत्रलाई पनि संगसंगै अगाडी बढाएकी छन् । उनले अहिलेसम्म मादलुको तालमा, आहा रेलुमै र जुरेली चरी सहित तीन वटा गिती एल्वम सार्वजनिक गरिसकेकी छन् भने “सिम सिमे पानी” भर्खरै बजारमा आएको नयाँ गिती एल्वम हो ।
पृथक र बेग्लै प्रस्तुतिका साथ आएकी थापाले यस गीतको छायाँकन रैनादेबी छहरा गाउँपालिकाको सेरोफेरोमा गरेकी छन् ।
यस गीतले आम दर्शक, श्रोताको मन जित्ने विश्वास गायिका थापाको छ । अघिल्लो वर्षका तीज गीतले युट्युबमा धेरै दर्शक पाएकाले यो गीतले अझ धेरै पाउने अपेक्षा गायिका थापाको छ । विगतका गिती एल्वम भन्दा यो एल्वम धेरै फरक र सुधारिएकाले पनि धेरै दर्शक र श्रोता पाउने अपेक्षा लिएको छु गायिका थापाले भनिन् । श्रीमान र घर परिवारको राम्रो साथ र सहयोग रहेकाले राजनीति, समाजसेवा र कलाकारितालाई संगै अगाडी बढाउन धेरै सहयोग पुगेको गायिका थापाले बताइन ।