संसार पोष्ट
चितवन, २१ साउन । पत्रकार शालिकराम पुडासैनी चितवनको एक होटलमा मृत भेटिएका छ्न् । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन् ।
उनी सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नं कोठामा बास बसेका थिए । खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र ढोका नखोलेपछि होटेल प्रशासनले राति १० बजे प्रहरीलाई खबर गरेको थियो । प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ । माउन्टेन टेलिभिजन स्रोतका अनुसार उनी दुई तीन दिन तराईको रिपोर्टिङ गरेर फर्कने भन्दै काठमाडौंबाट चितवन गएका थिए ।
नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २ घर भएका पत्रकार पुडासैनी हालै मात्र माउण्टेन टिभीमा प्रवेश गरेका थिए । उनले मिसन न्यूज कार्यक्रम चलाउँदै आएका थिए । आफन्त आएपछि घटनाबारे थप अनुसन्धान हुने चितवन प्रहरीले जनाएको छ ।
