बागलुङ, २० साउन । अविरल वर्षासँगै आएको बाढीले जिल्लाको पश्चिममा बनेको कृत्रिम ताल फुटेको छ । बडीगाड खोलामा पानीको सतह बढेपछि बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा गत वर्ष बनेको तुरतुरे ताल सोमबार बिहान चार बजे फुटेको हो ।
ताल फुट्ने सम्भावना बढेर खोलामा पानीको बहाव तीब्र रुपमा बढेपछि रातिदेखि नै प्रहरीले बागलुङ र गुल्मीको तटीय बस्तीमा सावधानी अपनाउन आग्रह गरेको थियो । तटिय क्षेत्रका बासिन्दा रातभर जाग्राम बसेका थिए । ताल फुटेपछि ७५ प्रतिशत पानी बगेको बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले बताए ।
गत वर्षको भदौ २९ गते राति खोलामाथिबाट तुरतुरेमा झरेको चट्टानी पहिरोले बडिगाड खोला थुनिएर कृत्रिम ताल बनेको थियो । ताल एक हजार दुई मिटर लामो र करिब एक सय मिटरभन्दा गहिरो रहेको छ । उक्त तालमा डुबान पीडित कुमाल लगायतका २७ परिवारले हिउँद याममा डुंगा चलाएर आम्दानी गरेका थिए ।
‘ताल एक्कासी फुट्छ कि भन्ने ठुलो सन्त्रास थियो, तर त्यस्तो भएन,’ प्रशासकीय अधिकृत सुवेदीले भने, ठूलो बाढी आएपनि बिस्तारै खोलिदै ताल बगेकाले तटिय क्षेत्रका बस्तीमा कुनै क्षति गरेन ।’ तुरतुरे ताल फुटेपछि ताल नजिकैको करिब २ सय मिटर मध्यपहाडी लोकमार्ग बगाएको छ । सडक बगाएपछि मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।

जिल्लाको पश्चिम बडिगाड, ढोरपाटन, निसीखोला, तमानखोला गाउँपालिका लगायतका नागरिक सिधा सवारी आवागमनबाट बञ्चित भएका छन् ।
अवरुद्ध लोकमार्ग तत्काल सुचारु गर्न नसकिने भएकाले वैकल्पिक मार्गको प्रयोगका बिषयमा पनि छलफल भइरहेको बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बताए । यसका लागि स्थानीय तह सँगै आवश्यक समन्वय र पहल भइरहेको उनले बताए । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।