दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी वर्षका लागि नीति तथा कार्यक्रम जेठ २६ गते शुक्रबार ल्याउने भएको छ ।
प्रदेश सरकारले यसअघि बिहीबार नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरे पनि एकदिन ढिला गरि शुक्रबार मात्रै ल्याउन लागेको हो । नीति तथा कार्यक्रम सार्वजनिक गर्ने प्रयोजनका लागि बिहीबारका लागि बोलाइएको प्रदेश सभाको बैठक स्थगित गरि शुक्रबार सारिएको छ ।
प्रदेश सरकारले रोजगारी र व्यावसायिक कृषिलाई प्राथमिकता दिने गरी नीति कार्यक्रम ल्याउन लागेको सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले जानकारी दिनुभयो ।
प्रदेश सरकारले एक वर्षमा उद्योग, भौतिक पूर्वाधार, विकासलगायतका काममा २ लाख जनालाई रोजगारी दिने किटान गरेरै नीति कार्यक्रमको तयारी गरेको उहांको भनाइ छ ।
रोजगारीका क्षेत्र किटान गरेर गरिब, सीमान्तकृत, अल्पसंख्यक, मुक्त कमैया, कमलरी, महिलालगायतलाई रोजगारीमा प्राथमिकता दिइनेछ । नीति तथा कार्यक्रममा प्रदेशको वन र खानीलाई उपयोग गरी त्यसबाट आर्थिक उपार्जन गर्ने कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको मन्त्री पाण्डेले बताउनुभयो ।
नीति तथा कार्यक्रममा नयाँ कार्यक्रमका रुपमा मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम समावेश गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।