बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् । मंगलबार प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।
प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई भन्दा बढी दलहरूको समर्थनमा हस्ताक्षरसहितको स्पष्ट बहुमत देखिने आधारसहित बिहीबार अपराह्न ४ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका छन् ।
एमाले नेता लिला गिरीको नेतृत्वको सरकारले सोमबार विश्वासको मत गुमाएपछि नयाँ सरकार गठनको आह्वान गरिएको हो ।
विश्वासको मत नपाएको नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धन दुबैले सरकारमा दावी गरेपछि प्रदेश प्रमुखले कानुनी परामर्शपछि निर्णय दिने बताएका थिए ।
महान्यायाधिवक्ताको परमर्शका आधारमा प्रदेश प्रमुख शेरचनले दुई वा दुई भन्दा बढी दलको वहुमत जुटाएर सरकार बनाउन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका सचिव प्रल्हाद पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रदेशका प्रमुख शेरचनले बहुमतको सरकार गठनका लागि आह्वान गर्नु भन्दा अगाडी नै नेपाली कांग्रेस र माओवादी केन्द्रसहित ८ दल र एक स्वतन्त्र गरी ५३ सांसदहरुले कांग्रेस नेता डिल्ली चौधरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गर्न निवेदन पेश गरिसकेका छन् ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९, नेपाली काँग्रेसका २७, माओवादीका १०, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जनमत पार्टी,जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद रहेका छन् ।
गठबन्धनमा फेरबदल नआएमा कांग्रेस–माओवादी सहितको गठबन्धनबाट डिल्ली चौधरी मुख्यमन्त्री बन्ने निश्चित जस्तै छ ।
