बढ्दो दुर्घटना न्युनीकरणका लागि यातायात मजदुरहरुलाई तालिम
बुटवल । लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा भएका १ हजार १ सय ६४ दुर्घटनामा ५ सय ५१ जनाको मृत्यु भएको छ । दुर्घटनामा १ हजार ७ सय २० जना घाईते भएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको तथ्याँक अनुसार लुम्बिनी प्रदेशमा भएका दुर्घटना मध्ये ९ सय ५९ वटा दुर्घटना चालकको लापरवाहीवाट भएको छ ।
सवारी दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षतिलाई कम गर्न सकिने उपायहरू पत्ता लगाई दुर्घटना न्युनीकरणलाई व्यवहारमा लागु गर्न बिहीबार बुटवलमा यातायात मजदुरहरुका लागि आयोजित प्रशिक्षण कार्यक्रममा यो तथ्याँक सार्वजनिक गरिएको हो ।
दुर्घटना न्युनीकरणका विषयमा यातायात मजदुरहरुलाई अभिप्रेरित गर्ने उद्देश्यले पश्चिम नेपाल बस बयवसायी प्रा. लि.द्वारा आयोजित प्रशिक्षण कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक अमृत भण्डारीले सडकमा मुख्यतयाः ४ कारणबाट सवारी दुर्घटना हुने जानकारी गराए ।
प्रहरी निरीक्षक भण्डारीले लुम्बिनी प्रदेशको गत आर्थिक वर्षमा भएका दुर्घटनाका कारण र तथ्याँक प्रस्तुत गर्दै गत आर्थिक वर्षमा १ सय ३० वटा बस र माइक्रो दुर्घटना भएको जानकारी गराए । यी दुर्घटना प्रतिसतका आधारमा ८ दशमलव ११ प्रतिशत रहेको छ ।
यस्तै बुटवल क्षेत्रमा भएका विभिन्न ६१ वटा दुर्घटनामा ५ जना मानिसको मृत्यु, ११ जना गम्भीर घाइते भएका थिए भने यस क्षेत्रमा ट्राफिक नियम उलङ्घन गर्ने ५ सय ९४ वटा सवारीलाई जरिवाना समेत गरेको प्रहरी निरीक्षक भण्डारीले बताए ।
प्रशिक्षणमा सिकाइएका र चालकहरुले सिकेका कुराहरु व्यवहारमा लागु भए नभएको विषयमा अनुगमन गर्न विशेष समिति निर्माण गरिने र स्थलगत अनुगमनका क्रममा नियम उल्लङ्घन गर्ने चालकहरुलाई कारबाही समेत गर्ने उद्देशयले पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रशिक्षणको आयोजना गरेको हो ।
प्रालिका अनुसार बढ्दो सवारी दुर्घटनाको न्यूनीकरण र यसबाट हुने मानवीय क्षतिलाई कम गर्ने उद्देश्यले बुटवलमा यातायात मजदुरहरुका लागि तालिम आयोजना गरिएको हो ।
प्रा. लि. का आन्तरिक सवारी ब्यवस्थापन तथा दुर्घटना न्युनीकरण प्रशिक्षण कार्यक्रमका संयोजक नारायण घिमिरेका अनुसार नेपालमा दिन प्रतिदिन सवारी साधनको संख्या र दुर्घटना बढ्दै गएकोले प्रा.लि.ले बिगतमा सञ्चालन गरेको आन्तरिक सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण प्रशिक्षण कार्यक्रम पुनः सुरु गरेको बताए ।
संयोजक घिमिरेका अनुसार दुर्घटना न्यूनीकरणका लागि चालक तथा परिचालकहरूलाई अनुशासित र मर्यादित बनाई जनधनको क्षति रोक्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । चालक तथा मजदुरहरुलाई आफ्नो पेशाप्रति सचेत र जिम्मेवार बनाउंदै यातायात क्षेत्रलाई मर्यादित र अनुशासित बनाई यात्रुहरुलाई सुरक्षित यात्राको अनुभूति सहितको सेवा प्रदान गर्नका लागि तालिम कोशेढुंगा साबित हुने घिमिरेको विश्वास छ ।
यस्ता तालिम नियमित संचालन गरिने र तालिम पश्चात संथागत रुपमा गरिने अनुगमनका क्रममा तालिममा सिकेका कुराहरु कार्यान्वयन नगरेको पाइएमा तत्काल कारवाही गरिनुका साथै अनुगमनमा चालक तथा परिचालकले यात्रुहरुलाई गर्ने ब्यवहार, अनुशासन, सवारी चालक अनुमति पत्र, ब्लुबुक, सवारीको यान्त्रिक अवस्थालगायतकाको चेक जाँच गरिने संयोजक घिमिरेले बताए ।
कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रा. लि.का प्रबन्ध सञ्चालक रामचन्द्र भुसालले प्रत्येक वर्ष सवारी दुर्घटनामा करोडौँ रकम खर्चिनु परेको बताउँदै यसलाई कमगर्न यस्ता तालिमहरूले सहयोग पुर्याउने बताए । कुशल र दक्ष चालकको नेपालमा कमी रहेको र सरकारले यातायात क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआउँदासम्म यातायात व्यवसायी र यातायात क्षेत्रको विकास हुन नसक्ने उनको भनाई छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका कृष्ण कँडेलले पेसालाई मर्यादित बनाउनका लागि चालक, परिचालक र हेल्परले आफूहरूलाई अनुशासित बनाउनु पर्नेमा जोड दिए ।