काठमाडौं । इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घटाएको छ । नयाँ भाडासूची अनुसार सबैभन्दा धेरै काठमाडौंबाट धनगढीको उडानमा ४४० रुपैयाँ भाडा घटेको छ ।
सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घटाएको हो ।
वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा हवाई यात्रा गर्ने यात्रुले हवाई इन्धनका लागि ७ हजार ५१० रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ७० रुपैयाँ तिरे पुग्नेछ ।
काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३४५ रुपैयाँले भाडा घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम भाडा ५ हजार ४९० रुपैयाँ कायम भएको छ । काठमाडौंबाट भद्रपुरका लागि ३०० रुपैयाँ भाडा घटेको छ । विराटनगरलाई २४०, जनकपुरका लागि १३०, भरतपुरका लागि १०५ र पोखराका लागि १५५ रुपैयाँ हवाई भाडा घटेको छ ।
काठमाडौंबाट भैरहवा उडानको भाडा २०५ रुपैयाँले घटेर ३ हजार २९५ रुपैयाँ कायम भएको छ । नेपालगञ्जमा ३२५, तुम्लिङटारका लागि १८५, सिमराका लागि ९० रुपैयाँ, सुर्खेतका लागि ३४५ र राजविराजका लागि २०५ रुपैयाँ भाडा घटेको छ । यो भाडादर बुधबारदेखि कार्यान्वयन गर्न प्राधिकरणले निर्देशन दिएको छ ।