बुटवल । २२ औं संस्करणको तिलोत्तमा गोल्ड कपको उपाधी मनाङ मस्र्याङ्दी क्लबले जितेको छ ।
बुटवल देवीनगरस्थित एन्फा टेक्निल सेन्टरको मैदानमा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई ट्राइब्रेकरमा पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लवले २२ औं स्ंस्करणको उपाधी उचालेको हो ।
जित संगै मनाङले ११ लाख ११ हजार १११ नगद राशीको पुरस्कार हात पारेको छ । उपविजेता बनेको सुदूर पश्चिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाएको छ ।
२०३३ सालदेखि सुरू भएको तिलोत्तमा गोल्डकपको उपाधि मनाङले पहिलोपटक जितेको हो । निर्धारित समयमा दुबै टिमले १–१ गोल गरेका थिए । त्यसपछि खेल ट्राइब्रेकरमा गएको थियो ।
मनाङले सुदूरपश्चिमलाई सडेन डेथमा ४–३ गोल अन्तरले पराजित गरेको हो । खेलको निर्धारित समयमा दुबैतर्फबाट समान १–१ गोल भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । उक्त समयमा पनि बराबर गोल भएपछि ट्राइब्रेकरमा पुगेको हो । पेनाल्टी सुटआउटमा मनाङका ४ खेलाडीले गोल गरे पनि जर्सी नम्बर २३ का अजित गुरुङको प्रहार बिममा लाग्दै बाहिरिएको थियो । यसैगरी सुदूरपश्चिम–१ का ४ खेलाडीले गोल गर्दा जर्सी नम्बर ११ का फागुराम थारुको प्रहारलाई मनाङका गोल रक्षक जियानाथ शेखले सहजै छेक्न सफल भए । पेनाल्टी सुटआउटमा समान ४–४ गोल भएपछि सडेन डेथबाट विजेताको टुङ्गो लगाइएको थियो । सडेन डेथमा मनाङले ४–३ गोल अन्तरले जित दर्ता गर्यो । सडेन डेथमा जर्सी नम्बर १२ का दिपेन्द्र मलासीको प्रहार गोलपोष्ट भन्दा निकै माथिबाट बाहिरिएको थियो ।
यसअघि निर्धारित समयको खेलमा दोस्रो हाफमा मनाङका कोफी टिमोथी कोडोले ५९ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । मैदानमा प्रवेश गरेको केही मिनेटमै उत्कृष्ट खेल प्रदर्शन गरेका जर्सी नम्बर ८ का सैदजमोल डेवलश्नलको क्रसमा कोफीले गोल गरेका हुन् । एक गोलले पछि परेपछि दबाबमा रहेको सुदूरले आफूलाई उत्कृष्ट लयमा फर्काउँदै ७१ औं मिनेटमा गोल बराबरीमा ल्याएको थियो । जर्सी नम्बर ११ का फागुराम थारुले गोल गरेका थिए ।
प्रतियोगितामा सुदूरपश्चिमका फागुराम चौधरी सर्वोत्कृष्ट खेलाडी बन्दै होन्डाको डियो स्कुटर प्राप्त गर्न सफल भए । उनले गोल्डकपमा सर्वाधिक ४ गोल गर्न सफल भएका थिए । यसैगरी विधागत तर्फ वेष्ट फर्वाडरको उपाधी समेत उनैले चुमे । उक्त उपाधीसँगै उनले नगद ३० हजार प्राप्त गरे । यसैगरी मनाङका जियानाथ शेख उकृष्ट गोल रक्षक, विसन गुरुङ उत्कृष्ट मिड फिल्डर, क्याप्टेन आशिष गुरुङ उत्कृष्ट डिफेन्डर तथा किरण श्रेष्ठ उकृष्ट कोच बन्दै जनही ३० हजार नगद पुरस्कार हात पारे ।
