भैरहवा । ओमसतिया गाउँपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधी वडा नम्बर ५ ले जितेको छ ।
बिहीबार गाउँपालिकाको वडा नम्बर २ केउटलिया कर्मडाँडा स्थित खेलमैदानमा भएको फाईनल खेलमा वडा नम्बर २ लाई १ विकेटले पराजित गर्दै पहिलो संस्करणको अध्यक्ष कपको उपाधी जितेको हो ।
टस जितेर वार्ड नम्बर ५ले क्षेत्र रक्षण (फिल्डींग) गर्ने निर्णय गरेको थियो । उस्ले जितकालागि पाएको ११५ रनको लक्षलाई निर्धारित १५ ओभरको खेलमा अन्तिम बल बाँकी छदा १ विकेटको रोमाञ्चक जित निकाल्दै उपाधी चुमेको हो ।
वडा नम्बर ५ ले उपाधी सहित ६० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपबिजेता वडा नम्बर २ ले ३० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेका छन् ।
वडा नम्बर ५ को जितमा बिजय यादवले सर्बाधिक ३० रन प्रहार गरे भने बिरु चौधरीले २३, सोनु हरिजनले २१ तथा सुनिल चौधरीले १३ रनको योगदान दिएका थिए । बलिंगमा वडा नम्बर २ का तुलबहादुर थापा, बसन्त चौधरी र राकेश गुप्ताले समान २।२ विकेट लिएका थिए ।
यस अघि टस हारेर ब्याटिंग गर्ने निम्तो पाएको वडा नम्बर २ ले निर्धारित १५ ओभरमा १ सय १४ रनको योगफल तयार गरेको थियो । जस्मा राकेश गुप्ताले २६, बसन्त चौधरीले २५, तुलबहादुर थापाले १८, गोबिन्द मल्लाहले १३ रन बनाएका थिए । बलिंगमा वडा नम्बर ५ का सुनिल चौधरी, बिजय यादव, सन्तोष शाहनीले समान २।२ विकेट लिदा दिनेश राई, बिरु चौधरीले एक एक विकेट लिएका थिए ।
फाईनल खेलमा म्यान अफ द फाईनल वडा नम्बर ५ का बिजय यादव भए । अनुशासित टिमको पुरस्कार ओमसतिया गाउँपालिकाको कर्मचारी टिम ए ले प्राप्त गर्न सफल भयो ।
प्रतियोगितामा ५ हजार नगद पुरस्कार सहितको म्यान अफ द सिरीजको उपाधी वडा नम्बर २ का तुलबहादुर थापाले प्राप्त गर्दा वडा नम्बर २ कै खेलाडीहरु अजय यादवले ३ हजार रुपैयाँ सहितको उत्कृष्ट क्षेत्र रक्षण (फिल्डींग) पुरस्कार, तुलबहादुर थापाले ३ हजार रुपैया राशीको उत्कृष्ट ब्याटसम्यान एवं अभिषेक कोहारले ३ हजार रुपैयाँ राशीको उत्कृष्ट बलरको पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा लगातार तिन छक्का प्रहार गर्ने खेलाडीहरु तुलबहादुर थापा ५ पटक (वडा २), लालबहादुर अधिकारी २ पटक (वडा १),बिजय यादव १ पटक तथा हैट्रिक विकेट,(वडा ५), धनञ्जय धवल २ पटक (वडा ४), सन्देश धवल १ पटक ( वडा ३) र सन्जय धवल २ पटक (वडा ३)ले प्रति हैट्रिक छक्का प्रहारको ५ सयका दरले पुरस्कार प्राप्त गरे । त्यसै गरी एक हातले बल क्याच (समात्ने) दर्शकहरुले पनि जनही २ सय रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । पुरस्कार प्राप्त गर्नेमा निरज मौर्य (४ पटक), उपेन्द्र यादव (१ पटक) र सुरेन्द्र यादव (१ पटक) छन् ।
बिजेता तथा उपबिजेता टिमका खेलाडीहरुलाई ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जितकुमार यादव (सोनु),उपाध्यक्ष सुनिता चौधरी, प्र्रमुुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, आयोजक सस्था द राईजिंग क्लव अफ बर्दिहवाका अध्यक्ष प्रविन गुप्तालगायतले ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए । ओमसतिया गाउँपालिकाको आर्थिक सहयोगमा द राईजिंग क्लव अफ बर्दिहवाको आयोजनामा चैत्र १ गते बाट सुरु भएको प्रतियोगितामा ओमसतिया गाउँपालिकाको कर्मचारीको २ टिम सहित ६ वार्डका गरी ८ टिमको सहभागिता रहेको थियो ।
खेलको समापन तथा पुरस्कार वितरण समारोहमा गाउँपालिकाका अध्यक्ष मन्जित यादवले गाउँपालिकाले क्रिकेट सहित अन्य खेल गतिबिधिलाई प्राथमिकतामा राखेको र गाउँपालिकाको आफ्नै क्रिकेट टिम बनाईने बताए । त्यसै गरी शिक्षा शाखा प्रमुख हरि पोखरेलले सफता पुर्वक क्रिकेट प्रतियोगिता सम्पन्न भएको र पालिकाका खेलाडीले अवसर पाएको बताए । समापन समारोहको सञ्चालन ओमसतिया गाउँपालिकाका कर्मचारी मनोज यादवले गरेका थिए ।