बुटवल । पाल्पा रिब्दिकोट ख्यहा रुपन्देही सम्पर्क समाजले पाल्पाको रिब्दिकोटमा संचालित शारदा माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर सुधारकालागि अभियान संचालन गर्ने भएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसंगै अँग्रेजी माध्यमवाट पठन पाठन गराउनका लागि सबैको साथ र सहयोगको आवश्यक्ता औल्याइएको छ ।
समाजको शुक्रवार भएको प्रारम्भिक अधिबेशन तथा साधारण सभामा वोल्नेहरुले रिब्दिकोट शारदा माध्यमिक विद्यालयमा अँग्रेजी माध्यममा पढाई नहुदा विद्यार्थीहरु अध्ययनका लागि शहर वजार जान बाध्य भएको भन्दै विद्यालयको शैक्षिक सुधारमा जोड दिएका हुन् ।
कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष जगदिश न्यौपाने, रिब्दीकोटका निवर्तमान वडा अध्यक्ष विष्णु गैरे, विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहन न्यौपाने र शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक ऋषिबहादुर रानाले यस्तो माग गर्दै आर्थिक समस्या भए सोको व्यवस्थापन समेत गर्ने प्रतिवद्धता जनाएका छन् ।
पाल्पा रिब्दिकोट गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष चिरन्जिवी पोखरेलले गाउँपालिका र वडाले गरेका विकास निर्माणतथा शैक्षिक क्रियाकलाप लगायतमा राजनैतिक आग्रह पूर्वाग्रह नराखी सबैको समान पहुंचहुने गरी वजेट विनियोजन गरिएको बताउनु भयो । उहाँले शारदा माध्यमिक विद्यालयको शैक्षिक स्तर बृद्धिका लागि समिति गठन भएको र सोही समितिको निर्णयका आधारमा आगामी योजना अघि बढाउने बताउनु भयो ।
कार्यक्रममा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका प्रथम उपाध्यक्ष लेखनाथ भण्डारीले समाजले सामाजिक कामलाई बढी प्राथमिकतामा राखेर अगाडी बढ्न सुझाव दिनुभयो ।
कार्यक्रममा समाजका अध्यक्ष तुल्सीराम पराजुलीले संस्था स्थापनाका लागि गरेको पहल र समाजले गरेका सामाजिक कार्यको वारेमा प्रकाश पार्नु भएको थियो ।
समाजको नयाँ नेतृत्व सर्वसहमत चयन
पाल्पा रिब्दिकोट ख्यहा रुपन्देही सम्पर्क समाजको प्रारम्भिक अधिबेशनले आगामी ३ वर्षे कार्यकालका लागि जगदिश न्यौपानेको अध्यक्षतामा नयां नेतृत्व सर्वसहमत चयन गरेको छ । समाजको वरिष्ठ उपाध्यक्षमा बसन्तप्रसाद पराजुली, उपाध्यक्ष कमलप्रसाद गैरे, सचिवमा धातानन्द पराजुली, सह सचिवमा भुवानीप्रसाद पराजुली र कोषाध्यक्षमा विनिता न्यौपाने चयन भएका छन् । यस्तै सदस्यमा सीता पराजुली, सूर्य बहादुर सुनार, पे्रमप्रकाश पाण्डे र रमेश पाण्डे चयन भएका छन् । अधिवेशनले श्रीराम गैरे संयोजक, हरिप्रसाद गैरे, होमनाथ पाण्डे र गनबहादुर राना सदस्य रहेको लेखा समिति चयन गरेकोे निर्वाचन समितिका संयोजक यमलाल भुसालले जानकारी गराउनु भयो ।
