बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेस हजारौं गुणा लोकतान्त्रिक रहेको दाबी गर्नुभएको छ ।
पाँच दलीय गठबन्धन दलले आज रुपन्देहीको तिलोत्तमा नगरपालिका योगिकुटी स्थित होटल पौवामा आयोजना गरेको संयुक्त प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । नेकपा एमाले तथा अध्यक्ष केपी ओलीलाई प्रतिगमनकारी भएको आरोप लगाउँदै उहांले त्योभन्दा काँग्रेस लोकतान्त्रिक भएको दाबी गर्नुभयो ।
कार्यकर्ताहरुलाई ढुक्क भएर गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गर्दै अध्यक्ष प्रचण्डले निर्वाचन जित्नका लागि मात्रै गठबन्धन नगरिएको उल्लेख गर्नुभयो ।
‘निर्वाचनमा जित हासिल गर्दासम्मका लागि मात्रै गठबन्धन गरिएको हैन, अध्यक्ष प्रचण्डले भन्नुभयो–‘ प्रतिगमनको खतरा रहँदासम्म गठबन्धन निरन्तर जान आवश्यक छ ।’ गठबन्धनका उम्मेदवारहरुलाई कुनैपनि राजनीतिक दलका मतदाताले धोका दिन नहुने भन्दै उहांले सबैले निर्धक्ककासाथ गठवन्धनका उम्मेदवारहरुलाई मत दिन आग्रह गर्नुभयो ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित कार्यक्रममा उपस्थित अध्यक्ष प्रचण्डले भन्नुभयो –‘हामी सबै एक ठाउँमा छौं भन्ने सन्देश दिनका लागि पनि हामी यहाँ आएका हौं ।’ एकले अर्कोलाई धोका नदिन अपिल गर्दै उहांले राजनीतिक परिवर्तनका लागि गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभयो ।
