गृहमन्त्री खांण रुपन्देही ३ र एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही २ मा
बुटवल, २३ असोज । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका उम्मेदवारहरुले आआफ्नो क्षेत्रमा आज उम्मेदवारी दर्ता गराएका छन् । रुपन्देहीबाट प्रतिनिधित्व गर्दै केन्द्रीय सत्ता सञ्चालनको नेतृत्वगर्ने जिल्लाका शीर्ष नेताहरुले पनि आज आआफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सरकारका गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देही क्षेत्र नंं ३ मा सत्ता गठबन्धनबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहांले आइतबार भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो । यो क्षेत्रमा प्रदेश सभा तर्फ नेपाली कांग्रेसका रामचन्द्र ढकाल र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डेले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
रुपन्देही क्षेत्र नं. ३ मा एमालेको समर्थनमा राप्रपाका दिपक बोहोराले पनि आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ । यो क्षेत्रमा एमाले गठबन्धनबाट प्रदेशसभामा जनता समाजवादीका महेन्द्र यादव र एमालेका तुल्सीप्रसाद चौधरीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
यसैगरी रुपन्देही २ मा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्री विष्णु पौडेलले उम्मेदवारी दिनुभएको छ । रुपन्देही २ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका राजु गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको छ । यो क्षेत्रको प्रदेश सभातर्फ एमालेबाट भोजप्रसाद श्रेष्ठ र लिला गिरी तथा कांग्रेसबाट दिर्घबहादुर केसी (कुमार) र माओबादी केन्द्रबाट बामदेव क्षेत्री उम्मेदवार बन्नुभएको छ ।
यस्तै रुपन्देही १ को प्रतिनिधिसभामा सत्ता गठबन्धनको समर्थनमा एमाले परित्याग गरेका घनश्याम भुसालले स्वतन्त्र हैसियतमा र एमाले, राप्रपा र जसपा गठबन्धनबाट एमालेका छविलाल विश्वकर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ । एमाले गठबन्धनबाट प्रदेश सभामा दधिराम न्यौपाने र राप्रपाका आशिष चौधरी तथा कांग्रेसबाट अब्दुल रज्जाक र विश्वनाथ यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै रुपन्देही ४ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका प्रमोद यादवले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गर्नुभएको छ । प्रदेश सभातर्फ कांग्रेसबाट अष्टभुजा पाठक र लोसपाबाट कन्हैया बानियाले उम्मेदवारी दर्ता गराउनुभएको छ । एमाले नेतृत्वको गठबन्धनबाट जसपाका ओमप्रकाश यादव गुल्जारीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यो क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्लाले पनि आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै प्रदेशसभामा एमालेका सुनिल कुमार गिरी, लोसपाबाट मोहनलाल यादव, जसपाबाट रामअवतार यादव र नेपाली काँग्रेसबाट वसिउद्दिन खानले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै रुपन्देही ५ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता भरतकुमार शाहले उम्मेदवारी दर्ता गराउनुभएको छ । उता एमालेबाट तिलोत्तमाका पुर्व मेयर बासुदेव घिमिरे र एमालेबाटै खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ । एमालेबाटै दुईजनाको उम्मेदवारी दर्ता भएपछि एमाले कार्यकर्ता अन्योलमा परेका छन् । तर पार्टीले भने खिमलाल भट्टराईको उम्मेदवारी आधिकारिक भएको जनाएको छ ।
यो क्षेत्रको प्रदेश सभातर्फ कांग्रेसबाट विष्णु पोखरेल र फकरुद्दिन खान, माओवादी केन्द्रबाट विनोद पहाडी तथा एमालेबाट भूमिश्वर ढकाल लगायतले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
विभिन्न पार्टीका उम्मेदवार संगै रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरुले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । जसअनुसार निर्वाचन क्षेत्र नं. १ मा सुदन बास्कोटा, २ मा डा. निकोलस भुसाल, ३ मा प्रख्यात बन्जाडे र ५ मा भिष्म राना लगायतले उम्मेदवारी दर्ता गराउनुभएको छ ।