बुटवल, २८ असार । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेशका पाँच जना पत्रकारलाई सम्मान गरेको छ ।
प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले अग्रज पत्रकार खिमानन्द भट्टराई र स्वर्गीय विन्दुकुमार चौहान तथा सिर्जनसिल पत्रकारको रुपमा सञ्जु पौडेल, डिलाराम भुुसाल र प्रेम विकलाई नगद पुरस्कार सहित सम्मान गरेको हो ।
अग्रज पत्रकार रुपन्देहीका खिमानन्द भट्टराई र स्वर्गीय विन्दुकुमार चौहान (मरणोपरान्त) लाई जनही ५० हजार रुपैंया नगद पुरस्कार र सम्मान पत्र सहित दोसल्ला ओढाएर मुख्यमन्त्री कुलप्रसाद केसीले सम्मान गर्नुभएको हो ।
त्यस्तै सिर्जनशिल पत्रकार सम्मानवाट रुपन्देहीकी पत्रकार सञ्जु पौडेल, कपिलबस्तुका पत्रकार डिलाराम भुसाल र बर्दियाका पत्रकार प्रेम विकलाई पनि जनही ५० हजार नगद पुरस्कार, सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
लुम्बिनी प्रदेश सरकारले दुई दशक वढि पत्रकारिता क्षेत्रमा काम गरेका अग्रज एकजना र सिर्जनसिल तीन जना पत्रकारलाई पुरस्कृत गर्नेगरी प्रत्येक वर्ष सम्मान गर्ने गरी अघिल्लो वर्षदेखि पत्रकार सम्मान कार्यक्रम शुरु गरेको हो ।
प्रतिगमनलाई बल पुग्ने समाचार सामाग्री प्रकाशन प्रशारण नगरौं : मुख्यमन्त्री केसी
पत्रकार सम्मान कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीयता विरुद्ध अफवाह फैलाउने काम भईरहेको बताउँदै त्यसलाई निस्तेज गर्नेगरी कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
प्रतिगमनलाई बल पुग्नेगरी कुनै प्रकारका समाचार सामाग्री प्रकाशन प्रशारण नगर्न पनि उहांले आग्रह गर्नुभयो । मुख्यमन्त्री केसीले संघीयताको विरुद्धमा प्रतिगमनकारी शक्ति सलवलाएको आरोप लगाउनु भयो ।
लामो संघर्षबाट प्राप्त उपलब्धिलाई उल्ट्याउनेगरी प्रतिगमनकारी शक्तिले संघीयतालाई गलत ढंगले प्रचार गर्ने काम गरेको भन्दै त्यसको सहि विश्लेषण गरेर उपलब्धिको रक्षा हुनेगरी कलम चलाउन मुख्यमन्त्री केसीले पत्रकारलाई आग्रह गर्नुभयो ।
संघीयतालाई बोझिलो भयो, अनावश्यक खर्चिलो भयो र संघीयताबाट उपलब्धि पनि भएन भन्नेगरी प्रचारप्रसार भईरहेको बताउँदै उहाँले संघीयताकै कारण क्षेत्रगत विकासको आधार तयार भएको दावी गर्नुभयो ।
कार्यक्रममा आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले प्राप्त उपलब्धिको रक्षामा जोड दिनुभयो । उहाँले संघीयताकै कारण पत्रकारहरुको प्रतिस्पर्धी क्षमतामा विकास भएको बताउनु भयो ।
कार्यक्रममा पत्रकार सम्मान बाट सम्मानित अग्रज पत्रकार खिमानन्द भट्टराईले लामो संघर्षबाट संघीयता प्राप्त भएको बताउँदै त्यसको संस्थागत विकास हुन नसक्दा आम नागरिकका आशा र अपेक्षा अनुसारको विकास पनि हुन नसकेको र संघीयता प्रति नै नैराश्यता सिर्जना गरेको भनाई राख्नुभयो ।