बुटवल, २९ असार । आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । यस दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धा भाव प्रकट गरी मनाउने गरिन्छ । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ ।
आज पूर्णिमा व्रत ब्यास पूजा जयन्ती हो । गुरुलाई आमा–बुबा सरह सम्मान गर्ने प्रचलन छ । यस दिन गुरुका रूपमा ज्ञानको पूजा गर्ने गरिन्छ । गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै यस दिन देशभरि गुरु पूर्णिमा मनाउने गरिन्छ ।
“गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमः”
अर्थात्
“गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान् शंकर हुन्,
गुरु नै हुन् साक्षात् परब्रह्म, यस्ता गुरुलाई म नमस्कार गर्दछु ।”
संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिइन्छ ।
वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ ।
