बुटवल, ६ असार । बुटवलको तिनाउ नदीमा पुरुषको शव फेला परेको छ । तिनाउ नदीको प्रगतिनगर छेउमा नदीको बीचको भङ्गालोमा बाढीले बगाएर ल्याएको पुरुषको शव फेलापरेको प्रहरीले जनाएको छ ।
बाढीले बगाएर ल्याएको शवको पहिचान समेत खुलेको छ । मृतक बुटवल उपमहानगरपालिका–११ बुद्धनगरका ६५ वर्षीय किशोर बहादुर नेपाली रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनुभयो ।
नेपालीको शव सोमबार बिहान बुटवल उपमहानगरपालिका–११ प्रगतिनगर स्थित तिनाउ नदीमा फेला परेको थियो । बाढीले बगाएर ल्याएका दाउरा समात्ने क्रममा उनलाई तिनाउ नदीले बगाएको हुन सक्ने प्रहरी प्रमुख केसीले बताउनुभयो । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।