प्रथम शहिद लखन थापाको शालिकमा माल्यार्पण गरेर घरदैलो कार्यक्रम
बुटवल, २६ वैशाख । चुनावी प्रचार प्रसारका क्रममा जनताको घरघरमा पुग्नुभएका बुटवल उपमहानगरपालिकामा नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार खेलराज पाण्डेयले सोमबार बिहान प्रथम शहिद लखन थापा मगरको शालिकमा माल्यार्पण गर्नुभएको छ ।
बुटवलको चौराहा (लखन चोक) मा रहेको शहिद थापाको शालिकमा माल्यार्पण गर्दै सोमबारको घरदैलो कार्यक्रम सुरु गर्नुभएको हो । नेता कार्यकर्ताको साथमा बिहानै लखन चोकमा पुग्नु भएका पाण्डेयले प्रथम शहिद लखन थापा मगरको शालिकमा माल्यार्पण गर्दै थापा प्रति श्रद्धासुमन ब्यक्त गर्नुभयो ।
नेपालका प्रथम शहिदलाई सम्मान गर्दै पाण्डेयले सोमबारको घरदैलो कार्यक्रमको सुरुवात गर्नुभएको हो । शहिदको योगदानले गर्दा देशमा परिवर्तन आएको र त्यही परिवर्तनको जगमा उभिएर अहिलेको निर्वाचन भएको उहांको भनाई थियो । देशमा जहानिया राणा शासनका विरुद्ध आवाज उठाउँदा लखन थापा मगर शहिद भएको स्मरण गराउँदै उहांले अहिलेको परिवर्तन ल्याउनको लागि शहिदहरुको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो । नेपालको प्रथम शहिद लखन थापा नै भएको बताउँदै उम्मेदवार पाण्डेयले नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीबाट प्रथम शहिदको बारेमा भ्रम छर्ने काम भएकोमा दुख ब्यक्त गर्नुभयो । ओलीको अभिब्यक्तिले गर्दा रूपन्देहीमा मगर संघले रूपन्देहीमा उनको पुत्ला समेत जलाएका थिए ।
संयुक्त गठवन्धनका उम्मेदवारहरुले सोमबार बिहान बुटवल वडा न ८ मा घरदैलो कार्यक्रम गरेका छन् । मेयर पदका उम्मेदवार पाण्डेय र उपमेयर पदका उम्मेदवार चिन बहादुर गुरुङले घर घरमा पुगेर भोट माग्ने मात्र नभएर जनताको गुनासो पनि सुन्दै आउनु भएको छ । बुटवल वडा नं ७ ,८ मा खानेपानीको अझैं समस्या रहेको स्थानीयले गुनासो राखेका छन् । स्थानीय सरकार आएको पाँच वर्षमा पनि बुटवलमा खानेपानीको समस्या सामाधान नभएको स्थानीयले बताएका छन् ।
अहिलेका मेयर शिवराज सुवेदी कै वडा नंं ७ मा एकदिन बिराएर बल्ल खानेपानी आउने गरेको स्थानीयको गुनासो छ । पानी पर्दा धारोमा धमिलो पानी आउने गरेको छ । निर्वाचित भएपछि खानेपानी समस्याको समाधानमा आफुहरुको पहिलो प्राथमिकता रहने मेयर पदका उम्मेदवार पाण्डेय र उपमेयर पदका उम्मेदवार गुरुङले प्रतिवद्धता जनाउनु भयो । बुटवलमा पाँच दलीय गठबन्धनले मेयर पदमा नेपाली काँग्रेसका खेलराज पाण्डेय र उप मेयरमा नेकपा एकृकीत समाजबादी पार्टीका चिन बहादुर गुरुङलाई चुनावी मैदानमा उतारेको छ ।