बुटवल । बुटवलमा उद्योगी व्यवसायीहरुले पाँच दलीय गठबन्धनका उम्मेद्वारको पक्षमा मत मागेका छन् । गएको स्थानीय निर्वाचनमा मेयरमा शिवराज सुवेदी सहित एमालेका उम्मेदवारले जितेपनि उद्योग व्यवसाय सञ्चालनको वातावरण बनाउनुको साटो उनीहरुलाई सताउने काम भएको भन्दै त्यसका विरुद्ध आसन्न स्थानीय निर्वाचनमा पाँच दलिय गठबन्धनका उम्मेदवारको पक्षमा उद्योगी व्यवसायीले मत मागेका हुन् ।
गठबन्धनको तर्फबाट उद्योगी व्यवसायी परिचालन समन्वय समितिको आयोजनामा आईतबार बुटवलमा भएको कार्यक्रममा नगरपालिकाले आफूहलाई सहयोग समन्वय गर्नुको साटो करमात्रै थोपर्ने र उद्योग व्यवसायको वातावरण नै विगारेको टिप्पणि गरेका थिए ।
कार्यक्रममा बोल्दै गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार खेलराज पाण्डेयले आफूले चुनाव जितेमा उद्योग व्यवसायमैत्री वातावरण बनाउने, उद्योग व्यवसायी नीति कस्तो लिने, कर निर्धारणमा व्यवसायीसंग समन्वय गर्ने र बुटवललाई कस्तो बनाउने भन्नको लागि राजनीतिक दलहरुसंग सरसल्लाह लिईने प्रतिवद्धता व्यक्त गर्नुभयो । नगरपालिकाले अहिले उद्योगी व्यवसायीलाई दुःख दिएको र त्यसको अन्त्य गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । मेयर उम्मेदवार पाण्डेयले सबैलाई आफै मेयर भएको अनुभूति गराउने, सबैका घरघर जाने, दुःख–सुखमा साथ दिने मेयर बन्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सुकुम्बासी समस्या हल गर्ने, युवा र महिलालाई सीप प्रदान गरी रोजगारी र स्वरोजगारमा जोड्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले बुटवलको ट्राफिक व्यवस्थापनको लागि पार्किङको व्यवस्था, खस्किदै गएको बुटवल बजारको बढोत्तरी, एक वार्ड एक पहिचानको नीति लिने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपमेयर पदका उम्मेदवार चिनबहादुर गुरुङले चुनाव जितेर गएपछि आफूहरुले गरेको संकल्प हुबहु कार्यान्वयन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको उद्योगी व्यवसायीलाई सहज वातावरण बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
गठबन्धनको तर्फबाट उद्योगी व्यवसायी परिचालन समन्वय समितिका संयोजक खिमबहादुर हमालको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक रामबहादुर कार्की, युवराज गिरी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बामदेव क्षेत्री, नेकपा एकीकृति समाजवादीका प्रदेश सचिव राजु गुरुङ, राष्ट्रिय जनमोर्चाका पदम श्रेष्ठ र जनता समाजवादी पार्टीका बामदेव भुसाल, काँग्रेस क्षेत्रीय सचिव विमलराज भट्टराईलगायतले संविधान र व्यवस्थाको रक्षाको लागि पनि अहिले गठबन्धनका उम्मेद्वारले जित्नुपर्ने र त्यसमा सहयोग गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।