टोलटोलमा गीत गाउँदै नाच्न थाले–च्याप्पै स्वस्तिक समाउने, झ्याप्पै रुखमा छाप लाउने
बुटवल, २१ बैशाख । ‘जय नेपाल, जय नेपाल, नेपाली कांग्रेस जिन्दावाद, आफैभित्र लड्ने पार्टी किन चाहियो देशलाई….., च्याप्पै स्वस्तिक समाउने, झ्याप्पै रुखमा छाप लगाउने, नपरौं है रनभुलैमा ।’ बुटवल उपमहानगरपालिकामा पाँचदलीय गठबन्धनका साझा उम्मेदवार खेलराज पाण्डे यही गीत घन्काउँदै घर अगाडि पुगेपछि ८३ वर्षीया रामकुमारी गुरुङ नाच्दै आँगनमा आइन् ।
उम्मेदवार खेलराज पाण्डेलाई अंगालो हालिन् र भनिन्–‘हे बाबु यसपालि जसरी पनि जित्नुपर्छ है, म बुढीले दिएको आशिक लागोस्, तिम्ले जित्यौ भने म अति खुशी हुनेछु ।’
उनले खेलराज पाण्डेसँग लामो कुराकानी गरिन् । बुटवलका कथाव्यथा सुनाईन् । उनले भनिन्–‘बुटवलमा यतिका वर्ष एमालेले शासन ग¥यो, तर पहिले भन्दा झन् नराम्रो भयो बुटवल, जताततै नराम्रो कामभयो भन्ने कुरा सुन्छु, यसलाई ठीक बनाउनुप¥यो, बाबु तिम्ले अहिले जितेर राम्रो काम गर ।’
गुरुङका कुरा सुनेपछि उम्मेदवार पाण्डेले बुटवलको नाम राम्रा कुरामा मात्रै आउने गरी कामगर्ने वाचा गरे ।
उनले बुटवलबासीको आत्मसम्मानमा आँच आउने काम नगर्ने बताउँदै भने–‘हरेक वडामा प्रयोगशाला र आकस्मिक सेवासहितको वडा स्वास्थ्य सेवा केन्द्र बनाउँछु, वडा स्वास्थ्य केन्द्रमार्फत् महिलाहरुकालागि निःशुल्क सेनिटरी प्याडको व्यवस्था मिलाउँछु, स्वास्थ्य बिमामार्फत् उपचार लिएका सेवाग्राहीलाई वडा स्वास्थ्य सेवा केन्द्रबाट औषधी उपलब्धहुने व्यवस्था गर्छु, बुटवल उपमहानगर क्षेत्रमा दुईवटा नगर अस्पतालको निर्माण गर्छु, नगर भित्र निःशुल्क एम्बुलेस सेवा उपलब्ध गराउँछु ।’
उनले सामाजिक, शैक्षिक, स्वास्थ्य, खेलकूद, प्रविधिलगायतका क्षेत्रहरुमा विशिष्ट योगदान पु¥याएका व्यक्तिहरुलाई ‘बुटवल रत्न’का रुपमा सम्मानित गर्ने कुरा पनि गुरुङलाई बताएका थिए ।
‘जेष्ठनागरिक, एकल महिला एवम् अपाङ्गता भएका नागरिकहरुकालागि थप आर्थिक सुविधा उपलब्ध गराइने छ । एक वडा एक जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गरिने छ’–पाण्डेले भने । गुरुङजस्तै पाका ज्येष्ठ नागरिकले खेलराज पाण्डेलाई मतदानगर्ने विश्वास दिलाएका छन् ।
सुख्खानगरकी ६५ वर्षीया उमादेवी घिमिरेले बुटवलमा कांग्रेसले जितेर सूर्यप्रसाद प्रधान मेयर हुँदाका राम्रा कामलाई निरन्तरता दिनुपर्ने बताइन् ।
‘बुटवलमा त्यसबेला सूर्यप्रसाद प्रधानको कस्तो वाहवाही थियो, कस्तो शान थियो त्यसबेला बुटवलको, अरु ठाउँका मान्छेहरु बुटवल भनेपछि ओहो, सूर्यप्रसाद प्रधान मेयर हुनुहुन्छ नि है भनेर जसले पनि चिन्थ्यो, खुशी हुन्थे, राम्रो भन्थे बुटवललाई, उनले खेलराज पाण्डेसँगको भेटमा भनिन्–अब तिम्ले सूर्यप्रसाद प्रधानले जसरी बुटवललाई राम्रो काममा चिनाउने काम गरु, जितेर देखाउ, अहिले जस्तो मेयरको नाम लिँदा नाक खुम्च्याउने नगराउनु, तिम्लाई मेरो आशिक लाग्छ ।’
बुटवलमा यसरी पाका पुस्ताले खेलराज पाण्डेलाई जितको शुभकामना दिएका छन् ।
पाण्डेले बुधबार बुटवलका वडा नं २, १७ र १९ मा मतदाता भेटघाट गरेका छन् । मतदातासँगको भेटघाटमा पाण्डेले बुटवल, सैनामैना, तिलोत्तमा, देवदह, सिद्धार्थनगर, शुद्धोधन, तिनाउ लगायत छिमेकी पालिकाहरुको एकीकृत विकासकालागि बुटवल–भैरहवा विकास प्राधिकरण स्थापनाका लागि समन्वय एवम् पहलगर्ने बताएका छन् ।
उनले मतदातासँग भने–‘बुटवललाई समृद्ध बनाउनकालागि पाँचदल एकैठाउँमा रहेको र बाँकी रहेका दलहरुलाई समेत अपनत्व महसुस हुने गरी काम गर्नेछु ।’
साझा संकल्पपत्रमा निजी तथा दलीय प्रयोजनकालागि सरकारी सवारी साधनको प्रयोग अन्त्यगर्ने, वार्षिक रुपमा जनप्रतिनिधिहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने, जनप्रतिनिधिहरुको एक महिनाको तलब नगरबासीहरुको स्वास्थ्य बिमा कार्यक्रमकालागि योगदान गर्ने प्रतिबद्धता उनले जनाएका थिए ।