भैरहवा, १९ बैशाख । नेकपा एकीकृत समाजवादी पार्टीले सिद्धार्थनगर नगरपालिकामा प्रचार अभियान तिब्र बनाएको छ । प्रचारका क्रममा मेयर पदका उम्मेदवार थमन पुन (कुलेन्द्र)ले आफूहरुले कहिल्यै पनि असम्भव सपनाहरु नबाँड्ने बताउनुभएको छ । उहांले जनअपेक्षाअनुसार काम गर्न आफूले मेयरमा उम्मेदवारी दिएको जनाउनुभयो ।
सोमबार भैरहवा मर्निङ्गवाक ग्रुपद्वारा आयोजित मेयर पदका उम्मेदवारहरुसँगको अन्तरक्रिया कार्यक्रममा पुनले भन्नुभयो –‘हिजो रेल र पानी जहाजका सपना बाँडिए, जनताले खोजेको विकास हो । न रेल आयो, न पानी जहाज । जनताले विकासको अनुभूति नै गर्न पाएनन् । त्यसैले नागरिकको जीवनमा प्रत्यक्ष सरोकार राख्ने विषय हाम्रो पार्टी र मेरो एजेन्डा हो ।’
उहांले गत २०७४ को निर्वाचनमा भैरहवा, बुटवल र लुम्बिनीमा मोनोरेलको असम्भव सपना बाँडिएको बताउनु भयो । आफूले जिते पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्रलाई राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘मानिस स्वस्थ रहे बल्ल उसले काम गर्न सक्छ, त्यसैले हाम्रो पहिलो लक्ष्य नागरिकलाई स्वस्थ राख्ने नै हो’, पुनले भन्नुभयो ।
स्वास्थ्यको साथै महिनाको ५ हजार लिटर खानेपानी प्रत्येक नागरिकका लागि निःशुल्क गर्ने उल्लेख गर्नुभयो ।
यस्तै, पुनले युवा श्रम गठन गरि नगरमा रहेका युवाहरुको अवस्था बारे जानकारी लिने बताउनु भयो ।