तिलोत्तमा, १९ बैशाख । एमाले स्थायी समिति सदस्य घनश्याम भुसालले स्थानीय चुनाव एमालेका निम्ति महाभारत भएको भन्दै यसमा विजय हासिल गरेरै छाड्ने बताउनुभएको छ । महाभारत युद्धमा कौरव र पाण्डवहरुबीचको लडाई जस्तै अहिलेको स्थानीय निर्वाचनमा एमाले पाण्डवको भूमिकामा रहेको छ भन्दै उहांले महाभारतको लडाई पाण्डवले जितेजस्तै स्थानीय निर्वाचन एमालेले जित्ने बताउनु भयो ।
महाभारतमा सत्य र न्यायको लागि लडाई भएजस्तै यसपालीको निर्वाचन पनि एमालेका लागि सत्य र न्यायको लागि भएको भुसालले बताउनुभयो । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १३ मा आयोजित मतदाता भेटघाट कार्यक्रमलाईं संबोधन गर्दै नेता भुसालले तिलोत्तमाले विकासमा राष्ट्रिय पहिचान बनाइसकेको भन्दै अवको चुनाव जित्न यसैलाई आधार बनाउन सकिने बताउनु भयो ।
विभिन्न क्षेत्रमा योगदान र सक्रियताको हिसावले एमालेले सबै हिसावले क्षमतावान उम्मेदवारलाई अगाडि सारेको उहांले बताउनु भयो ।
