सिकलसेल एनिमियाका विरामीको नि:शुल्क उपचार गर्ने प्रतिवद्धता
सैनामैना, १९ बैशाख । गठबन्धनको पक्षमा देखिएको ठूलो जनलहरले रुपन्देहीको सैनामैनाका स्थानीय मतदातामा समेत उत्साह थपिएको छ ।
मतदातालाई उत्साहित बनाउन गठबन्धनका उम्मेदवारहरुले घरदैलो गर्दै जनताका समस्या नजिकबाट बुझ्ने र सुन्ने गर्दै आएका छन् । सोही क्रममा उम्मेदवारहरुले जनताको समस्या, आवश्यकता र पीडामा एकाकार हुने प्रतिवद्धता समेत जनाएका छन् ।
गठबन्धनका तर्फबाट सैनामैना नगरपालिकाको प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका फणेन्द्रप्रसाद शर्माले थारु जातिमा हुने सिकलसेल एनिमियाका विरामीको निशुल्क उपचारको व्यवस्था गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
थारु जातिमा रक्त अल्पताका कारण हुने यो रोगका विरामीलाई सैनामैनाका जनप्रतिनिधिले कुनैपनि उपचारको व्यवस्था नगरेको बताउँदै प्रमुखका उम्मेदवार शर्माले आफूहरु निर्वाचित भएमा सिकलसेल एनिमियाका विरामीको निशुल्क उपचार गर्ने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले सिकलसेल एनिमियाको रोगसंगै सैनामैनामा अरु क्यान्सर, मृगौला र मुटु रोगका विरामी समेत रहेको र उनीहरुको समेत भरपर्दो उपचारको व्यवस्था नभएकोले अव आफूहरुले उनीहरुको उपचारका लागि समेत ध्यान दिने उहाँले प्रतिवद्धता जनाउनु भयो ।
सैनामैनामा सोमबार आयोजित चुनावी सभालाई सम्वोधन गर्ने क्रममा प्रमुखका उम्मेदवार शर्माले त्यस्ता विरामीको उपचारमा सहयोग मात्र नभै बुटवलसम्म उपचारका लागि जानुपर्दाको निशुल्क यातायातको व्यवस्था गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार नेकपा माओवादी केन्द्रका मानवहादुर महत (नारायण) ले गठबन्धनका उम्मेदवारहरुलाई जनताले भोट दिए सुनौलो र नौलो सैनामैना बनाउने प्रतिबद्धता जनाउनु भयो ।
उहाँले अहिलेका जनप्रतिनिधि जस्तो अँध्यारो कोठामा बसेर ठेक्कामा भाग खोज्ने काम आफूहरुले कहिल्यै नगर्ने प्रतिवद्धता जनाउँदै सैनामैनालाई बस्न लायक नगर बनाउने योजना आफूहरुको रहेको बताउनु भयो ।
हामी सैनामैनाका आमा बुवाका छोरा छोरी रहेको उल्लेख गर्दै उपप्रमुखका उम्मेदवार महतले सैनामैनाका जनप्रतिनिधिले भ्रष्टाचार र कमिसनमा डुबेर सैनामैनाकै इज्जत र प्रतिष्ठामाथि घात गरेको जिकीर गर्नुभयो ।
यसैगरी गठबन्धनका उम्मदेवारहरुले सैनामैनाका विभिन्न वडामा घरदैलो अभियानलाई तीब्र बनाएका छन् । घरदैलोमा संलग्न उम्मेदवारहरुलाई सैनामैनाका विभिन्न वडामा भब्य स्वागत गरिएको छ ।
यस्तै सैनामैना नगरपालिका वडा नं. ५ मा पनि गठबन्धनले चुनावी प्रचार प्रसारलाई तिब्र पारेको छ । वडा अध्यक्ष पदका उम्मेदवार राजेन्द्र घिमिरेले वडाको विकासको लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भयो । वडाका भित्र सडक अझैं बन्न नसकेको बताउँदै आफुले जिते विकासका पुर्वाधार निर्माणलाई जोड दिने बताउनु भयो । वडा अध्यक्षमा घिमिरे सहित महिला सदस्यमा अनिता पौडेल, दलित महिला सदस्यमा भक्तिमाया विक, खुल्ला सदस्यमा जिवनारायण मरासिनी र सोम बहादुर विकको उम्मेदवारी रहेको छ ।
घरदैलोका क्रममा मेयर पदका उम्मेदवार शर्माले चुनाव जितेपछि नगरमा निःशुल्क शिक्षा प्रदान गरिने बताउनु भयो । चुनाव जितेपछि सैनामैनाका सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क गरिने उहांले बताउनु भयो । संविधानमा नै यो ब्यवस्था भएको तर पालिकाहरुमा अझैं कार्यान्वयन हुन नसकेको अवस्थामा सैनामैनामा गठबन्धनको जित भए शिक्षालाई निःशुल्क गर्दै संविधानको कार्यान्वयन गरिने बताउनु भयो ।
उपमेयर पदका उम्मेदवार नारायण महतले चुनाव जिते पछि न्यायिक समितिले गर्नुपर्ने कामलाई चुस्तदुरुस्त गरिने बताउनु भयो । उपमेयरले नगरमा भएका काम तथा विकासको अनुगमन गर्ने भएकाले यसलाई जोड दिँदै गुणस्तरिय विकासमा सधैं लाग्ने उहांले बताउनु भयो ।