भैरहवा, २९ चैत्र । नेपाली काँग्रेसका नेता डाक्टर चन्द्र भण्डारीले नेपालमा आर्थिक संकट परेको भन्दै विदेशबाट आयातित वस्तुलाई कम गर्दै नेपालमा उत्पादित वस्तु तथा पिय पदार्थलाई ब्राण्डिङ् गरेर अगाडि बढ्नु पर्ने बताउनुभएको छ ।
मंगलबार भैरहवामा लुम्बिनी प्रेस क्लबले आयोजना गरेको साक्षात्कार तथा अन्तत्र्रिmया कार्यक्रममा बोल्दै नेता भण्डारीले नेपालमा कोदोको रक्सी ब्राण्ड बनाएर देश तथा विदेशमा विक्री गर्न सकिने बताउनुभएको हो । अहिले नेपालमा मानिसहरु रक्सीका सौखिन भएको र नेपालमा वार्षिक अरबौंको रक्सी आयात गर्नु भन्दा नेपालमा उत्पादित वस्तुलाई ब्राण्ड बनाएर विदेशमा विक्री गर्नुपर्नेमा उहांले जोड दिनुभयो । नेपालको गाउँ गाउँमा उत्पादन हुने तरकारी, मकै, कोदो, सुन्तला, स्याउलाई नेपालको ब्राण्ड बनाएर विदेश पठाउन सकिने उहांको भनाई थियो ।
‘नेपाल उत्पादनमुखि नभई आयात केन्द्रित भएको र नेताले चुनाव आउँदा जनतालाई नयाँ नयाँ आश्वासन बाँड्ने र कार्यकर्ता नेताकै पछाडि लाग्ने प्रवृतिले गर्दा मुलुक टाट पल्टने अवस्थामा पुग्यो ।’ नेता भण्डारीले भन्नुभयो–‘चुनावमा कपडा, मोवाइल र मासु भात बाँडेर चुनाव जित्ने प्रवृतिले गर्दा सक्षम र भिजन भएका नेता पछाडि परे ।’
लिडरसिपको स्वार्थीपनका कारण मुलुक माफियाको हातमा पुगेको उल्लेख गर्दै नेता भण्डारीले नेपालको संविधान नेपालले नै बनाएको, मुलुकले आर्थिक भार थेग्न नसकेकोले प्रदेश सरकारको कुनै पनि काम नभएको र केन्द्र सरकारमा १ सय भन्दा बढी सांसद आवश्यक नभएको बताउनु भयो । स्थानीय निर्वाचनमा राजनीति हुँदा सक्षम र सबल व्यक्ति पछाडी परेको उल्लेख गर्नुभयो । स्थानीय तह स्वतन्त्र हुनुपर्ने भन्दै उहांले स्थानीय तहको विकास, कला संस्कृतिको संरक्षण स्थानीय तहले नै गर्न सक्ने भएकाले स्थानीय सरकार बलियो बनाउनु पर्नेमा जोड दिनुभयो ।
नेता भण्डारीले स्थानीय तहको निर्वाचनमा गठबन्धनले हरेक क्षेत्रमा जित हाँसिल गर्ने निश्चित भएकोले कोही पनि कार्यकर्ता विचलित नभई एक ढिक्का भएर लाग्न मतदाताहरुलाई आग्रह गर्नुभयो ।
