मणिग्राम, २९ चैत्र । रुपन्देहीका ११ वटा सहकारी संस्था एकीकरण भइ सञ्चालनमा रहेको सबैको बचत तथा ऋण सहकारी संस्था लि. तिलोत्तमा ५, मणिग्राम रुपन्देहीले मंगलबार रक्तदान कार्यक्रम आयोजना गरि एकिकरण दिवस मनाएको छ । मणिग्राममा आयोजित रक्तदान कार्यक्रममा ९६ पाउण्ड रगत संकलन भएको छ ।
संस्थाका सेयर सदस्य, सञ्चालक, सल्लाहकार, कर्मचारी एवं स्वरोजगार अटोरिक्सा सञ्चालकहरुले स्वेच्छिक रक्तदान गरे । संस्थाको पहिलो एकिकरण दिवस विभिन्न कार्यक्रम गरि मनाउने संस्थाको योजना अनुसार यस अगाडि विभिन्न स्थानमा सहकारी शिक्षा कार्यक्रम सञ्चालन भएका थिए ।
रक्तदान कार्यक्रमको आरम्भ सत्रमा प्रमुख अतिथि स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदानको फाइदाका बारेमा जानकारी दिनु भएको थियो । रक्तदान गर्दा विभिन्न रोगहरुको निशुल्क परिक्षण हुने हुँदा आफैलाई कुनै रोग लागेको भए समयमै जानकारी पाइने र सरिरमा खेर जाने रगतले अर्को मानिसको जीवन बचाउने जस्तो पूण्यकार्य समेत हुने उहाँले जानकारी गराउनु भयो । चौहान क्षेत्रीले संस्थाका सल्लाहकार उद्योगी नेत्र पाठकलाई रगत संकलन गर्ने ब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गर्नु भयो ।
रक्तदान कार्यक्रम उप समिति संयोजक एवं संस्थाका सञ्चालक चक्र पाठकको अध्यक्षतामा सञ्चालित कार्यक्रममा रक्तदान कार्यक्रम र संस्थाको एकिकरण दिवसका बारेमा सञ्चालक देवप्रसाद गुरुङले जानकारी गराउनु भएको थियो । सस्थाका सञ्चालक टिकाराम न्यौपानेको सञ्चालनमा भएको कार्यक्रममा रक्तसञ्चार केन्द्र बुटवलले प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।
