‘खराब सरकारी नीतिका कारण देसको व्यापार घाटा अझै बढ्छ’
तिलोत्तमा, २७ चैत्र । राजनीतिक व्यवस्था नै धरापमा परेको वेला देशको सिंगो अर्थतन्त्र समेत दिन प्रतिदिन धरासायी बन्दै गएको भन्दै उद्योगी ब्यवसायीहरुले चिन्ता ब्यक्त गरेका छन् ।
ओरालो लागेको देशको देसको अर्थतन्त्र सुधारका लागि सरकारले बेलैमा सम्बन्धित सबै पक्षसँग छलफल गरेर समाधान खोज्नु पर्नेमा समेत उनीहरुले जोड दिएका छन् ।
तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीले आइतबार संघ सचिवालयमा आयोजना गरेको २०७९ सालको शुभकामना आदान प्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रममा सहभागि उद्योगी ब्यवसायीले ओरालो लागेको देशको अर्थतन्त्र सुधारका लागि सरकार तथा दलका नेताहरुले कुनै चासो र चिन्ता ब्यक्त नगरेको भन्दै चिन्ता ब्यक्त गरे ।
कार्यक्रममा संघका सल्लाहाकार पशुपति घिमिरेले भएका उद्योग धन्दा राम्रो संग सञ्चालन गर्न सक्ने वातावरण नरहेको बताउनु भयो । सरकारले दिने अनुदानमा ब्यापक दुरुपयोग र भ्रष्टाचार भएको भन्दै सरकारले दिने अनुदान उत्पादनसिल क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताउनु भयो । उहांले मुलुकलाई आत्मनिर्भर बनाउन र आयात प्रतिष्थापन गर्न उत्पादन क्षेत्रमा सामुहिक लगानी गर्नुपर्ने आवश्यक्ता औल्याउनु भयो ।
संघका सल्लाहाकार चन्द्रमान श्रेष्ठले नेपाल सरकारले निर्यात मुलक उद्योग सञ्चालनका लागि स्थापना गरेको सेजमा उद्योग मैत्री वातावरण नभएका कारण नयाँ उद्योग स्थापना हुन नसक्ने र उद्योग सञ्चालन गरिरहेका उद्योगीहरु समेत कतिवेला उद्योग वन्द गरेर निस्किने भन्ने अवस्थामा रहेको वताउनु भयो । कतिपय मानिसलाई पैसा भए जे पनि गर्न सकिन्छ भन्ने लागे पनि मुलुकको पछिल्लो अवस्थाले गर्दा पैसा भएपनि केही गर्न नसकिने अवस्था रहेको उहांको भनाई छ । ‘हामी आयात मुखी छौं, आयातबाट भन्सार लगाएर आएको सामानवाट आम्दानी गर्ने अर्थतन्त्रको ब्यवस्था भएकाले जति लगानी गरेपनि लगानी अनुसारको उत्पादन गर्न सकिने वातावरण छैन ।’ उहांले भन्नुभयो–‘सरकारलाई पैसा बुझाउन जांदा अनावश्यक झण्झट ब्यहोनुपर्ने र कर्मचारी र दलालहरुलाई पैसा खुवाउनु पर्ने प्रबृत्तिको अन्त्य नभएसम्म मुलुकको आर्थिक अवस्था सुधार हुंदैन ।’
सल्लाहाकार नवराज श्रेष्ठले कोरोनाले लामो समय सम्म बन्द रहेका हरेक क्षेत्र राम्रो सँग तग्रिन नपाएको अवस्थामा बैंकिङ क्षेत्रले तरलताको अभावमा महिनौदेखि कर्जा प्रवाह गर्न नसक्दा लामो समय बन्द रहेको व्यापार व्यवसाय पुन सञ्चालन गर्नका लागि उद्योगि व्यवसायीहरुलाई पुंजी जुटाउन समस्या भैरहेको बताउनु भयो । उहांले खराब सरकारी नीतिका कारण देसको व्यापार घाटा अझै बढ्ने अवस्थामा पुगेको र देसभित्र उत्पादित वस्तुको समेत निर्वाध रुपमा आयात हुन दिदा देस नै आयात गरेर निर्वाह गर्ने अबस्थामा पुगेको उल्लेख गर्नुभयो ।
संघका अध्यक्ष गुणनिधि भण्डारी (माधव)ले एकोहोरो आयातले देसको व्यापार घाटा भयावह अबस्थामा पुगेकाले सरकारले तत्काल आयात नीतिमा परिवर्तन गर्दै आन्तरिक रुपमा उत्पादन हुन सक्ने वस्तु तथा सेवामा उच्च भन्सार दर कायम गरि देसभित्र उत्पादन बढाउन जोड दिनुपर्ने बताउनु भयो । कार्यक्रममा संघका उपाध्यक्ष हरिलाल पाण्डे, कृष्णप्रसाद शर्मा, महासचिव कमल कँडेल, कोषाध्यक्ष सुरज पंगेनी लगायतले बोल्दै मुलुकको अर्थतन्त्र कमजोर अवस्थामा पुगेको र निर्यातको कमजोर आधार र उच्च आयातका कारण व्यापार घाटा फराकिलो हुँदै गएको भन्दै चिन्ता ब्यक्त गर्नुभयो ।

