बुटवल, २५ चैत्र । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मजदुर क्षेत्रको प्रतिनिधित्व गराउन सरोकारवालाले राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । सधैभर भोट बैंकको रुपमा मजदुर वर्ग प्रयोग हुन नहुने र मत दिंदा विवेक पुराउनु पर्नेमा उनीहरुले जोड दिएका छन् ।
सधैका र सबै निर्वाचनहरुमा राजनीतिक दलहरुलाई भोट दिएर जिताए पनि मजदुरहरुका समस्या अहिले पनि यथावत रहेकाले अब मजदुरहरुले मजदुर वर्गको प्रतिनिधि उठाउन दलहरुलाई खबरदारी गर्नुपर्नेमा उनीहरुले जोड दिए ।
नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघ बुटवल नगरसमितिले शुक्रबार बुटवलमा आयोजना गरेको नयाँ वर्ष २०७९ को शुभकामना आदान प्रदान तथा भित्रे पात्रो विमोचन कार्यक्रममा बोल्ने मजदुर नेताहरुले अब आफ्नो अधिकार आफै सुनिश्चित गर्न स्थानीय सहित प्रदेश र संघीय निर्वाचनमा मजदुर वर्गको प्रतिनिधिनित्व आवश्यक रहेको बताए । उनीहरुले मजदुर वर्गका समस्याप्रति राज्य बेखवर बनेको गुनासो गरे ।
सोही कार्यक्रममा बोल्दै नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघका केन्द्रिय अध्यक्ष जेबी गुरुङले मजदुर वर्गको समस्या समाधानका लागि स्थानीय तहमा मजदुर वर्गको जनप्रतिनिधिलाई निर्वाचित गराउनु पर्नेमा जोड दिनुभयो । सामाजिक सुरक्षा कोषबाट लक्षित वर्ग उपेक्षित भएको बताउंदै उहांले श्रम ऐन कार्यान्वयनमा ल्याउन सरकारसंग माग गर्नुभयो । अरुको काम गरेर पुस्तौ पुस्तादेखि जीविका चलाउंदै आएको मजदुर वर्गले अबको निर्वाचनमा विवेक पुराएर मत दिनुपर्नेमा उहांले जोड दिनुभयो ।
कार्यक्रममा काउनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष ओमप्रकाश चौधरीले देशमा राजनीतिक परिवर्तन भएपनि मजदुहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नकसकेको बताउनु भयो ।
काउन रुपन्देही जिल्ला अध्यक्ष सूर्यदेव दासले अहिलेसम्म मजदुर वर्गले सम्मान र इज्जत पाउन नसकेको बताउंदै स्थानीय तहको निर्वाचनमा आफ्ना अधिकार सुनिश्चित गर्नेगरी आफ्ना प्रतिनिधि छनोट गरी मत दिनुपर्नेमा जोड दिनुभयो । काउन रुपन्देहीका सचिव सोमबहादुर थापाले राज्यले कामदार तथा मजदुरहरुलाई चिन्न नसकेको बताउनु भयो ।
कार्यक्रममा नेपाल टे«ड युनियन कांगे्रस लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष कृष्ण बेल्वासे, काउन रुपन्देही जिल्ला उपाध्यक्ष मोहनी चौधरी, बुटवल नगर समिति उपाध्यक्ष भागमनी चौधरी, मंगलापुर काउनका सचिव देवबहादुर थापा,पत्रकार खिमानन्द भट्टराई लगायतले बोल्दै मजदुरहरुको अधिकार सुनिश्चित गर्न नीति निर्माण तहमा मजदुर वर्गको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनुभयो । काउन बुटवल नगर समितिका अध्यक्ष तिलबहादुर हिस्कीको अध्यक्षता र सचिव जयसिंह चौधरीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
