बुटवल, २० माघ । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका प्रहरी कार्यालयले विभिन्न ठाउंबाट रु ६ लाख ७ हजार दुई सय रुपैयां बराबरको अबैध सामान बरामद गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी ईकाईहरुले विभिन्न मिति र समयमा आ–आफ्नो वडा एरियाहरुबाट उक्त मूल्य अनुसारको अबैध माल– सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरी टोलीले शुद्धोधन गाउँपालिका वडा न. २ खडवा वनगाई स्थित बाटोको साइटमा रोकी राखेको लु १ त ३३६५ न.को ट्याक्टरमा राखिएको रु.३ लाख २० हजार मुल्य बराबरको ३५ बोरा चिनी र ८ बोरा युरिया मल बरामद गरी ट्याक्टर समेत नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कोटहीमाई गाउँपालिका –३ मुर्दयाघाट स्थित लु ६ प २०३६ नं.को मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा रु. १ लाख बराबरको गाडीका बिभिन्न किसिमको पार्टपुर्जा बरामद गरेको छ ।
यस्तै ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ६ शिवगडियामा भारत बाट भन्सार छली अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको रु.५० हजार बराबरको सिमेन्टको जस्ता, चिनी, काजु, बदाम, छोडा र सुजि लगाएतका समान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा न.५ निर्वाणाचोकमा भारत बाट अवैध रुपमा ल्याउदै गरेको रु.१० हजार बराबरको १० थान टेन्ट कपडा बरामद गरेको छ ।
यसैगरी ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरी टोलीले कोटहीमाई गाउँपालिका वडा नं. ५ बरदहवा चोकमा रु. ४३ हजार २ सय बराबरको ४८ वटा जिउदो ब्रोईलर कुखुरा बरामद गरेको छ ।
यस्तै ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका ६ लोखडियामा लु २ प ४९२७ नं.को मोटरसाईकलमा ल्याउदै गरेको रु.८४ हजार बराबरको ३८ पिस कुखुरा बरामद गरेको छ । प्रहरीले बरामद भएका अबैध सामान र सवारी साधन आबश्यक कारवाहीका लागि बेलहिया भन्सार कार्यालय चलान गरेको छ भने कुखुरा स्थानीय र प्रहरीको रोहवरमा खाडल खनी गाडिएको जनाएको छ ।