बुटवल, २० माघ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बुटवलको राजमार्ग चौराहा–गोलपार्क व्यापारिक सडक विस्तारको काममा ढिलाई नगर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । बुटवल उद्योग बाणिज्य संघको टोलीले सडक विस्तारको काममा ढिलासुस्ती भएको भन्दै सडक डिभिजन कार्यालय बुटवललाई ध्यानाकर्षण गराएको हो ।
सडक डिभिजन कार्यालयमा डेलिगेशन गएको संघको टोलीले बुटवलको राजमार्ग चौराहा–गोलपार्क व्यापारिक सडक विस्तारको काममा ढिलाई हुँदा त्यस आसपासका व्यापार व्यवसाय प्रभावित भएको भन्दै सडक विस्तारको काममा गतिदिन आग्रह गरेको छ ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, महासचिव बिमलराज भट्टराई, कार्यकारी निर्देशक मदनकुमार कार्की सहितको टोलीले सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीलाई भेटेर सडक विस्तारको काममा विलम्ब हुँदा सडक आसपासका व्यापार व्यवसायमा प्रत्यक्ष असर परेको भन्दै सडक विस्तारको कामलाई तिव्रगतिमा अगाडि बढाउन ठेकेदारलाई दवाव दिन सडक डिभिजन कार्यालयका प्रमुख लाई आग्रह गरेको हो ।
सडक विस्तारको जिम्मा पाएको ठेकेदार कम्पनीले सडक निर्माणको जिम्मा लिएको लामो समय बितिसकदा पनि जुन गतिमा काम गर्नुपर्ने त्यो नहुँदा एकातिर सडकको अवस्था नाजुक र अस्तव्यस्त भएको छ भने अर्कोतर्फ सडककै कारण व्यवसायीहरु प्रतयक्ष मारमा परेका छन् ।
लामो समय सडक अस्तव्यस्त हुँदा सवारी साधन सञ्चालन तथा पैदल यात्रुलाई समस्या भएको छ भने धुलो र हिलोको कारण अर्को समस्या थपिएकाले सडक विस्तारको काम छिटो सक्न संघले सडक कार्यालयको ध्यानाकर्षण गराएको संघका अध्यक्ष उज्ज्वल कसजुले बताउनु भयो ।
त्यस अवसरमा सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले ठेकेदार कम्पनीले विचमा काम रोकेका कारण आशातित प्रगति नदेखिएको बताउँदै अहिले भने कामको गति बढेको बताउनु भयो । समयमै काम सक्न र विचमा काम नरोक्न ठेकेदार कम्पनिलाई दवाव दिएको भन्दै प्रमुख मरासिनीले ठेकेदारको माग र आवश्यकता अनुसार कार्यालयले कामको भुक्तानी गरिरहेको बताउनु भयो । सडकमा रहेको हिलो र धुलोको समस्या समाधानको लागि अव छिटै सडक विचको भागमा पिचको काम अगाडी बढाउन लागिएको र गोलपार्क चिडियाखोला सडक विस्तारको लागि समेत टेण्डरको प्रकृया सुरु भएको उहांले जानकारी गराउनु भयो ।