बुटवल, ९ माघ । नेपाल पत्रकार महासंघ रुपन्देही र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबिच पत्रकारहरुलाई सहजरुपमा उपचारको ब्यवस्था मिलाउने गरी सम्झौता भएको छ ।
विशेष गरी कोरोना संक्रमित पत्रकारहरूका लागि सहजरुपमा उपचारको व्यवस्था मिलाउने गरी नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सुपरिटेण्डेण्ट डा. ईन्द्र ढकाल विच यस्तो सम्झौता भएको हो ।
आईतवार अस्पताल परिसरमा भएको सम्झौताअनुसार अस्पतालले पत्रकारहरूलाई मात्र पिसीआर परीक्षण निःशुल्क गर्ने, कोरोना संक्रमित एचडियु तथा आईसियु बेडमा महासंघको सिफारिस र प्राथमिकताको आधारमा एक÷एक बेड निःशुल्क उपलब्ध गराउने र ज्वरो क्लिनिकमा महासंघको सिफारिसकै आधारमा निःशुल्क परामर्श सेवा उपलब्ध गराउने उल्लेख छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. ढकालले नागरिकलाई सुसुचित गराउने सन्दर्भमा फ्रन्टलाइनमा खटिई कार्य गर्ने पत्रकार तथा सञ्चारकर्मीहरुलाई तेस्रो लहरको बेला सहज र प्रथमिकताका साथ उपचार प्रबन्ध मिलाईदिन महासंघको पत्रअनुसार अस्पतालको निर्णयपछि सेवा व्यवस्थापन गरिएको बताउनु भयो । आफ्नो कार्यकालमा पत्रकारहरूको लागि अन्य समयमा पनि कार्यान्वयन हुने खालको योजना बनाएर सम्झौता गरिने आश्वासन समेत उहांले दिनुभयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले अस्पतालबाट आगामी दिनमा पनि थप सुविधा पाईनेमा आशा ब्यक्त गर्नुभयो । उहांले महासंघले सधै पत्रकारको हित र रक्षाको क्षेत्रमा काम गर्ने बताउनु भयो ।
