लुम्बिनी, ९ माघ । नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिले लुम्बिनी विकास कोषको काममा भएको ढिलाई प्रति चासो ब्यक्त गरेको छ । काँग्रेसले लुम्बिनी गुरुयोजनाको काममा विलम्ब गर्न नहुने भन्दै काम छिटो सक्न आग्रह गरेको छ ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिले लुम्बिनी विकास कोषमा हाल भैरहेको कामका बारेमा चासो राख्दै सो विषयमा जानकारी समेत लिएको छ । प्रदेश समितिले आज कोषका योजना प्रमुख सहितको टोलीसंग लुम्बिनी विकास कोषको कार्यालयमा छलफल गरी लुम्विनीको विकासमा काँग्रेसले सहयोगी भूमिका खेल्ने बताएको छ ।
छलफल कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले बुद्ध जन्मस्थल लुम्बिनीको समग्र विकासमा नेपाली काँग्रेसले सहयोगी भूमिका निर्वाह गर्ने र काम गर्ने क्रममा भएका कमी कमजोरीको प्रति खबरदारी गर्ने बताउनु भयो । लुम्बिनीलाई केन्द्रमा राखेर लुम्बिनी प्रदेशभित्रका अन्य पर्यटकीय क्षेत्रको समेत विकास हुनुपर्नेमा जोड दिँदै सभापति पुनले लुम्बिनी आउने पर्यटकलाई प्रदेशका सबै जिल्लामा पु¥याउने वातावरण विकाष कोषले तयार गर्नुपर्ने बताउनु भयो ।
नेपाली काँग्रेस प्रदेश समितिसंगको छलफल कार्यक्रममा लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले गुरुयोजनाको ८१ प्रतिशत काम सकिएको भन्दै अब दुई वर्षभित्र सम्पूर्ण काम सकिने जानकारी गराउनु भयो । लुम्बिनीको विकासमा प्रदेशभित्रका सबै राजनीतिक दल र सरोकारवाला सबै पक्षसँग छलफल गरेर कोष अघि बढ्ने बताउनु भयो ।
काँग्रेस प्रदेश समितिको टोलीले लुम्बिनी बौद्ध विश्वविद्यालयका पदाधिकारीसँग पनि भेट गरी विश्विद्यालयको विकास र शैक्षिक अवस्थाको बारेमा जानकारी लिएको छ ।
छलफल कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश सभापति पुन संगै प्रदेशका पर्यटन राज्यमन्त्री रिना नेपाल, प्रदेश सांसद अष्टभुजा पाठक, नेपाली काँग्रेस प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठ, सहमहामन्त्री विष्णु प्रसाद मुस्कान, प्रदेश सदस्य ई. कुशुमराज ज्ञवाली, प्रकाश राना, विक्रम सिंह थापा, अर्घाखाँची पार्टी सभापति केशव श्रेष्ठ, गुल्मी जिल्ला सदस्य हरिकुमार श्रेष्ठसहित प्राविधिक तथा पत्रकार लगायतको टोली सहभागि थियो ।