तिलोत्तमा, २९ पुस । बनलाई राष्ट्रको सम्पतिको रुपमा संरक्षण गरेर बनको दिगो विकास गर्नुपर्ने सरोकारवालाले बताएका छन् । वनको संरक्षण, सम्वद्र्वन, प्रवद्र्वन र दीगो विकास सबैको साझा विषय बन्नुपर्ने उनीहरुको भनाइ छ ।
रुपन्देहीको शँकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–४ को बिहीबार सम्पन्न २१ औं वार्षिक साधारण सभामा बोल्ने सरोकारवालाले वनको दीगो विकासका लागि सबैको साथ र सहयोग हुनुपर्नेमा जोड दिए ।
साधारण सभामा बोल्दै नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्व उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीले सामुदायिक बनको जग्गा अतिक्रमण गर्न खोज्नेहरुका बिरुद्व अदालतले जनताको पक्षमा स्वागतयोग्य फैसला गरेको भन्दै अदालतको प्रशंसा गर्नुभयो । वन र जनताको पक्षमा सर्वोच्चले निष्पक्ष निर्णय गरेको उल्लेख गर्दै समूहका वरिष्ठ सल्लाहकार समेत रहनुभएका नेता गिरीले अब वन क्षेत्रलाई सुन्दर र हरियाली बनाएर भावी सन्ततिलाई हस्तान्तरण गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा उच्च सरकारी वकिलको कार्यालय लुम्विनी प्रदेशका प्रमुख मोहन सागर बस्यालले एक जना मानिसका लागि स्वच्छ हावा र अक्सिजनका लागि ६ वटा रुखको आवश्यक्ता पर्ने भन्दै सबै मिलेर खाली जमिनमा विरुवा रोपेर हरियाली प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख बोधराज सुवेदीले वन ऐन बन्न नसकेको बताउंदै वन ऐन बनाएर कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिनुभयो । डिभिजन वन कार्यालयलाई प्रदेश सरकारले प्रदेशको मातहत र संघीय सरकारले संघीय मातहतमा राख्न होडवाजी गरेका कारण अहिलेसम्म वन ऐन बन्न नसकेको भन्दै ऐन नवनेकै कारण वनमा ढला पडा अवस्थामा रहेका रुखको ब्यवस्थापनमा समस्या रहेको बताउनु भयो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता गोपाल पाण्डे (अल्छी), वनका वरिष्ठ सल्लाहाकार टेकबहादुर थापा, एमाले तिलोत्तमा नगर अध्यक्ष तामनाथ पाण्डे, नेकपा माओवादी केन्द्रका बेलप्रसाद शर्मा, जनमुक्ति पार्टीका भोमबहादुर बुढा, वनका पूर्व अध्यक्ष केशवराज न्यौपाने, करहिया सामुदायिक वनका अध्यक्ष खेमप्रसाद गौतम, सामुदायिक वनका पार्षद शारदा तिवारी, लोकनाथ पाण्डे, महिला उपसमितिका अध्यक्ष गीता बस्याललगायतले बोल्दै वन क्षेत्रमा बढ्दै गईरहेको चोरी निकाशीलाई नियन्त्रण गर्दै वनको दिगो विकासमा सबैको साथ र सहयोगको आवश्यक्ता पर्ने औंल्याउनु भयो ।
साधारण सभामा समूहको तर्फबाट नीति तथा कार्यक्रम सहितको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शंकरनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रविन्द्र बस्नेतले विगत लामो समय देखि अदालतमा विचाराधिन रहेको मुद्दा वनको पक्षमा फैसला भएकोमा खुशी ब्यक्त गर्दै यो फैसला हुनुमा अदालत, कानुन ब्यवसायी, समूहका पूर्व अध्यक्ष, पदाधिकारी र सदस्य, स्थानीय उपभोक्ता, राजनैतिक दल, सञ्चार क्षेत्र तथा प्रवुद्ध वर्गको साथ र सहयोग महत्वपुर्ण रहेको बताउनु भयो । उहांले सामुदायिक वनको कुल क्षेत्रफल ५८४ंंं ६० हेक्टर मध्ये ११८ ४२ रुख खण्ड, ३५५ ९९ पोल खण्ड र ११० १९ क्षेत्रलाई बृक्षारोपण खण्डमा बर्गिकरण गरी ५१ ३४ हेक्टर क्षेत्रलाई पर्यापर्यटन क्षेत्रको रुपमा विभाजन गरी सोही अनुरुप कार्यहरु भईरहेको जानकारी गराउनु भयो । .
सो अवसरमा सामुदायिक वनको ८२ विगाहा जग्गा भू माफियाहरुले अनधिकृतरुपमा हड्प्न खोजिरहेको अवस्थामा वनको जग्गा वनकै नाममा फिर्ता ल्याउन वनको तर्फबाट अदालतमा बहस पैरवी गरेकोमा सो भूमिकाको उच्च मुल्यांकन गर्दै वरिष्ठ अधिवक्ता गोपाल पाण्डे (अल्छी), वरिष्ठ अधिवक्ता कमलराज जोशी, अधिवक्ता खुमकात पौडेलल र लेखनाथ ढकाललाई सम्मान गरिएको थियो ।
त्यस्तै वनको मुद्धामा निरन्तर क्रियाशिल रहेको र वनको दीगो विकास तथा संरक्षण र सम्वद्र्धनमा महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै समूहका पूर्व अध्यक्षहरु केशवराज न्यौपाने,क्याप्टेन पे्रमबहादुर भण्डारी, उमानाथ कंडेल र राम गिरीलाई सम्मान गरिएको छ । साथै पूर्वअध्यक्ष स्व.भवानीप्रसाद देवकोटा र स्व. दिलबहादुर कार्कीलाई मरणोप्रान्त सम्मान गरिएको छ ।
सोही कार्यक्रममा सामुदायिक वनको बार्षिक कार्यक्रम अन्तर्गत तिलोत्तमा नगरपालिका १–४ अन्तर्गत रहेका विभिन्न ५ वटा सरकारी विद्यालयमा अध्ययनरत प्रति विद्यालय २ जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई जनही रु. ३ हजारका दरले छात्रबृत्ति प्रदान गरिएको थियो ।
सामुदायिक वनका उपाध्यक्ष कमला ज्ञवालीको स्वागत र सचिव कालिका अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
साधारण सभाको बन्द सत्रमा समूहका कोषाध्यक्ष भुवन आचार्यले आर्थिक वर्ष २०७८÷०७९ का लागि १ करोड ७६ लाख २३ हजार ३१२ रुपैयांको अनुमानित आय ब्यय प्रस्तुत गर्नुभएको थियो ।