सैनामैना, २७ पुस । संघिय संसदका सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले नागरिकले खानेपानी निशुल्क उपभोग गर्न पाउनुपर्ने बताउनुभएको छ । अहिले धेरै ठाउँमा खानेपानी केही व्यवस्थित भइसकेको तर धारा जडानको लागि महंगो शुल्क तिर्नुपर्दा विपन्न नागरिक मारमा परेको उहांले बताउनु भयो ।
रुपन्देहीको सैनामैना ९ मा रहेको दलदले बरपानी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको साधारण सभा तथा अधिवेसनमा बोल्दै क्षेत्र नम्बर ५ का सांसद शाहले नागरिकले कर तिरिसकेपछि खानेपानी जस्तो आधारभूत सुविधा निशुल्क पाउनुपर्ने उल्लेख गर्नुभयो । ‘जनतासँग कर लिइसकेपछि खानेपानी जस्तो आधारभुत कुराहरुमा सरकारले ध्यान दिँदैन भने के अर्थ भयो ।’ उहांले भन्नुभयो–‘संसारमा यी कुराहरुमा व्यवस्थित गरिन्छ । भारतको दिल्लीमा केजरीवालले २० हजार लिटर सम्म कसैलाई पैसा पर्ने छैन भनेका छन् ।’
शाहले पानीको शुल्क क्रमश कम गर्दै निशुल्क बनाउने तर्फ जानुपर्ने उल्लेख गर्नुभयो । यो विषयमा संसदमा पनि बहस गर्ने र नीतिगत कुरामा समेट्ने उहांले जानकारी दिनुभयो । कांग्रेस नेता समेत रहनुभएका शाहले आफ्नो पार्टी नेतृत्वको सरकारले सुकुम्बासी समस्या समाधानको लागि पनि पहल गरिरहेको बताउनु भयो । कसैलाई पनि भूमिहिन बनाउन नहुने भन्दै उहांले एक पटक भूमिहिन सबैलाई जग्गा र लालपुर्जा उपलब्ध गराइने उल्लेख गर्नुभयो । यसको लागि छिट्टै आयोग गठन भएर काम अघि बढ्ने शाहले जानकारी दिनुभयो ।
कार्यक्रममा सैनामैना नगरपालिकाकी उपमेयर विना रानामगरले नगरका सबै ठाउँमा स्वच्छ खानेपानी पु¥याउन नगरपालिका प्रतिबद्ध रहेको बताउनु भयो ।
दलदले बरपानी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष लिलाधर भण्डारीले प्रतिवेदन प्रस्तुत गर्दै खानेपानीको लागि हालसम्म १६ हजार २ सय मिटर पाइप विच्छाइएको र २ सय ३६ घरमा धारा जडान भएको जानकारी दिनुभयो । शुल्क तिरेका र धारा जडान नभएका, सदस्यता शुल्क मात्र तिरेका गरि कुल ३ सय ३७ जना संस्थाका सदस्य रहेको उहांले बताउनु भयो ।
कार्यक्रममा कांग्रेसका पूर्व जिल्ला उपसभापति फणेन्द्र शर्मा, प्रदेश सभाका उमेद्वार विष्णु पोखरेल, सैनामैना ९ का वडाध्यक्ष डोलराराज भण्डारी, विष्णु न्यौपाने, उपभोक्ता घनश्याम न्यौपाने, संस्थाका सचिव तिलक नेपाली, सदस्य रामचन्द्र मरासिनी लगायतले बोल्दै स्वच्छ खानेपानी पाउनु जनताको अधिकार भएको बताउनुयभो । अधिवेशनले संस्थाको नयाँ नेतृत्व समेत चयन गर्ने छ ।