भैरहवा, २७ पुस । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को दोस्रो पूर्ण बैठक भैरहवामा सम्पन्न भएको छ । बैठकले जनवर्गीय संगठन निर्माणलाई तीव्रता दिने निर्णय गरेको छ । बैठकको निर्णयानुसार अब प्रत्येक वडामा राष्ट्रिय युवा संघ र महिला संघ गठन गरिने नगर कमिटी अध्यक्ष रामबहादुर बस्नेतले बताउनु भयो ।
बैठकले माघ १५ गतेभित्र वडा कमिटी गठन गरिसक्ने, पार्टी केन्द्रबाट उपलब्ध स्टिकरहरु नगरका प्रत्येक घरघरमा पुर्याउने निर्णयसमेत गरेको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । ‘पार्टीको स्टिकर घरघरमा पुर्याउने निर्णय भएको छ । यद्यपि कोरोना भाइरस तिव्र रुपमा फैलिएको छ । यदि प्रशासनले अनुमति दियो र महामारी केही मत्थर भयो भने हामीले घरघरमा स्टिकर बाँड्ने काम गर्नेछौं । होइन भने यसलाई स्थगित गरिने छ’, बस्नेतले भन्नु भयो ।
यस्तै, बैठकले पुस मसान्तसम्म प्रत्येक वडा कमिटी इन्चार्जहरुले वडामा गर्नुपर्ने विकास निर्माणका योजनाहरुको पहिचान गरी नगर पार्टी कार्यालयमा पठाउने, संगठन र पार्टी कमिटीलाई चुस्त राख्नुका साथै आमनागरिकको आवश्यकता र आवाजहरुलाई नियामक निकायसम्म पुर्याउन पहल गर्ने निर्णय गरेको छ ।
बैठकमा संविधान सभा सदस्य एवं पार्टी केन्द्रिय अनुशासन आयोगका सदस्य आदित्यनारायण कसौधन, केन्द्रिय सदस्य एवं रुपन्देही सह–इन्चार्ज उमा काफ्ले, प्रदेश कमिटी सदस्य एवं रुपन्देही सचिव अविराम विक, प्रदेश सदस्यहरु ऋषिराम पाण्डे, श्रीराम गुप्ता, जिल्ला सचिवालय सदस्य एवं नगर इन्चार्ज तारापति भण्डारी लगायतले बोल्दै संगठन विस्तारसँगै महामारीमा जनताको पिरमर्का बुझी सहयोगीको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
