नवलपरासी, २० पुस । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले लगातार ५ दिनदेखि पश्चिम नवलपरासीको भैरहवा– भूमही सडक खण्ड बन्द गराउँदै आएका छन् । छोटो दुरीका कारण पूर्वपश्चिम भएर चल्ने सवारीसाधनहरु सो सडक खण्ड हुँदै आवतजावत गर्ने गरेका छन् । परासी सदरमुकामको कसियास्थित प्रहरी बिट अगाडी बसेर उनीहरुले सडक बन्द गराउँदै आएका छन् । प्रहरीले बन्द स्थानदेखि आधा किलोमिटरको दुरीमा बसेर सवारीसाधनलाई रोकेर राखेको छ ।
१५÷ २० जनाको समुहमा रहेका जनमत पार्टीका कार्यकर्ताहरुले दैनिक बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सडक बन्द गराउँदै आएका छन् । जसका कारण सो सडक खण्डमा चल्ने सवारीसाधन ८ घण्टासम्म सडकमै रोकिन बाध्य भएका छन् । किसानको समस्या समाधानको माग राखेर सडक बन्द गराएका उनीहरुले आन्दोलन अनिश्चित रहेको बताउँदै आएका छन् ।