नवलपुर, २० पुस । पूर्वी नवलपरासीमा ट्रकको ठक्करबाट प्रहरी जवान घाईते भएका छन् ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ११ दमार चोकमा प्रहरी चेकिङ्ग गरिरहेको अवस्थामा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश २ –०३– ००१ख ५७२८ नम्बरको ट्रकले प्रहरी चौकी अरुणखोलामा कार्यरत प्रहरी जवान अमृत चौधरीलाई ठक्कर दिएको हो ।
दुर्घटनामा परी चौधरीको खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरी चौकी अरुणखोलाले जनाएको छ । घाईते चौधरीको चितवन स्थित एलाइभ अस्पतालमा उपचार भईरहेको छ । ठक्कर दिने ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैविच पूर्वी नवलपरासीमा एक जना मजदुर घाँस काट्ने क्रममा घाँस काट्ने मेसिनले हात काटेर घाइते भएका छन् ।
स्थानीय बासिन्दाका अनुसार नवलपुरको मध्यबिन्दु नगरपालिका – २ चनौली बस्ने बर्ष ४५ को बाबुलाल महत्तोको मध्यविन्दु –४ लुस्लहरी स्थित रहेको नारायणी कृषी तथा पशुपालन फर्ममा रहेको घाँस काट्ने मेसिनमा घाँस काट्ने क्रममा हात काटिएको हो ।
उनको दाहिने हातको नाडीबाट काटिएको र मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार पछि थप उपचारका लागि नारायणी सामुदायिक अस्पताल भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।
यस्तै पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका ४ जनक स्कुल नजिकै मोटरसाइकलको ठक्करबाट ३ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउदैं गरेको बा ५७ प ४११५ नम्बरको मोटरसाइकलले पैदलयात्रीहरुलाई दिएको हो ।
मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालक पर्सा जिल्लाको जिराबनी गाउँपालिका घर भई हाल गैडाकोट –४ बस्ने २५ बर्षीय प्रकाश चौधरी, पैदलयात्री भारत घर भई हाल गैंडाकोट ५ बुद्ध चोक बस्ने बर्ष २१ को दिनेश कुमार र बर्ष ३० को पिन्टु जैसवाल घाइते भएका छन् ।