नवलपुर, २० पुस । पूर्वी नवलपरासीको देवचुलीमा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा खिमानन्द भुसाल पुन निर्वाचित हुनुभएको छ ।
नेकपा एमालेको एकल प्यानलबाट उम्मेदवार बनेका भुसालले सत्ता पक्षीय गठबन्धन नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनका उम्मेदवार नारायणप्रसाद पौडेललाई पराजित गर्दै प्रगतिनगर खानेपानीको अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
खानेपानी संस्थाको आठौं अधिवेशन अन्तर्गत भएको निर्वाचनमा भुसालले निकटतम प्रतिद्वन्दी पौडेललाई ५ सय ५९ मतअन्तरले पराजित गर्नुभयो । भुसालले २ हजार ४ मत प्राप्त गर्दा पौडेलले १ हजार ४ सय ४५ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी सचिव पदमा संयुक्त गठबन्धनका इन्द्रमणी भुसालले जित हात पार्नुभएको छ । इन्द्रमणी भुसालले कुल १ हजार ६ सय ९९ मत ल्याई आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका एकल उम्मेदवार सूर्यप्रसाद दवाडीलाई २१ मतान्तरले पराजित गर्नुभयो । सचिवका उम्मेदवार दवाडीले १ हजार ६ सय ७८ मत प्राप्त गर्नुभयो ।
सचिवमा निर्वाचित इन्द्रमणि भुसाल यस अघि पनि खाने पानी संस्थाको सचिव हुनुहुन्थ्यो । त्यसैगरी लेखा समिति संयोजकमा नेकपा एमालेका एकल उम्मेदवार रत्ना भुसाल १ हजार ८ सय ६ मतका साथ बिजयी हुनुभएको छ भने निकटतम प्रतिद्वन्दी लिलाधर अधिकारीले १ हजार ५ सय ५३ मत ल्याउनु भएको छ ।
लेखा महिला सदस्य पदमा गीताकुमारी रिजाल न्यौपाने र खुला तर्फ शिवलाल पराजुली बिजयी हुनुभएको छ । दुवै जना एमालेका एकल प्यानलका उमेदवार हुन् ।
यसैगरी खानेपानी संस्थाको ब्लक नं १ बाट गठवन्धनकी उम्म्ेदवार लक्ष्मी तिवारी सदस्यमा विजयी हुनुभएको छ । त्यसैगरी ब्लक २ बाट सदस्यमा एमालेका एकल उमेदवार टोपबहादुर न्यौपाने, ब्लक नं. ३ बाट सत्ता गठबन्धनका नन्दुलाल धिताल, ब्लक ४ मा एमालेका एकल प्यानलका उमेदवार दीना पराजुली, ब्लक ५ एमालेका गुणा भण्डारी विजयी हुनुभएको छ ।
यस्तै ब्लक ६ मा संयुक्त गठबन्धनका ओमप्रसाद सारु, ब्लक नं ७, ८ र ९ मा एमाले एकल प्यानलका उमेदवारहरु दुर्गादेवी विष्ट, कृष्णकुमार श्रेष्ठ र जसबिर पुलामी सदस्यमा विजयी हुनुभएको छ ।