कमल चौधरी
कपिलबस्तु, १६ पुस । नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. १ (क) कपिलबस्तुकोे आयोजनामा आज शुक्रबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइएको छ ।
नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालालगायतका नेताहरु लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन १६ पुसलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउने गरिन्छ ।
नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. १ (क) कपिलबस्तुले पनि जिल्लाको बाणगंगा नगरपालिका ८ बोर्डगाउँमा एक कार्यक्रमको आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाएको हो ।
नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. १ ( क) का सभापति दुर्गा केसीको अध्यक्षता तथा उपाध्यक्ष कृष्ण मुरालीको स्वागत रहेको कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति पूर्व मन्त्री कमलेश कुमार शर्माले मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्छ भन्ने सोचका साथ वीपी कोइराला लगायतका नेताहरु स्वदेश फर्किएको ऐतिहासिक दिनलाई नेपाली कांग्रेसले एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउदै आएको बताउनु भयो । उहाँले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला, लौहपुरुष गणेशमान सिंहलगायत नेताहरु मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्किएको स्मरण गर्दै यो दिवस मनाएको बताउनु भयो । उहाँले बीपीले मुलुकको सार्वभौमसत्ता रक्षाका लागि लिएको मेलमिलापको नीति अहिले पनि निकै सन्दर्भिक रहेको र यसलाई दिवसमा मात्र सिमित नगरी ब्यवहारमा लागु गर्नुपर्नेमा जोड दिनुभयो ।
क्षेत्रिय सभापति अब्दुल मन्नान खाँले राष्ट्रिय एकता, पार्टी भित्र एकता, सहयोग र सद्भाव गर्नको लागि ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ निकै नै सान्दर्भिक रहेको बताउनुभयो । उहाँले अब स्थानीय निर्वाचन आईरहेको अवस्थामा सबै नेपालीहरु सहयोग र सहकार्य गर्दै व्यक्तिको जित नभएर पार्टी र राष्ट्रियताको लागि एक जुट हुनुपर्ने औल्याउनुभयो ।
कार्यक्रममा नेपाली काग्रेस क्षेत्र नं. १(क) कपिलबस्तुका पूर्व सभापति शालिकराम चौधरी, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिहरु अशिष शर्मा, कृष्ण न्यौपाने, विमला गैरे, डोलक राम घिमिरे, विपि प्रतिष्ठान कपिलबस्तु जिल्ला अध्यक्ष युवराज के.सी, वडा सभापति जगन्नाथ भण्डारी लगायतले बोल्दै मुलुकको समग्र रुपान्तरणको लागि एकता र मेलमिलाप निकै सान्दर्भिक रहेको बताउनुभयो । नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. १ ( क) कपिलबस्तुका सचिव दल बहादुरको संचालनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पार्टीका वडा, नगर,क्षेत्र र जिल्लाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।