बुटवल, १६ पुस । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पार्टीलाइ एक ढिक्का बनाउँदै संगठन निर्माण र जनहितका कार्य गर्ने बताउनुभएको छ । महाधिवेशनका क्रममा भएका आन्तरिक प्रतिष्पर्धा स्वभाविक भएको भन्दै सभापति पुनले अवका दिनमा काँग्रेसलाइ पहिलो पार्टी बनाउन प्रदेश नेतृत्वले सबैको मन जितेर अगाडी बढ्ने बताउनुभएको हो ।
प्रदेश कार्यसमितिको पहिलो बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार बुटवलमा गरिएको पत्रकार भेटघाट कार्यक्रममा सभापति पुनले स्पष्ट नीति, कार्यक्रम र योजना सहित पार्टीलाइ पहिलो बनाउन जनहितका कार्यलाइ प्रभावकारी बनाउने बताउनु भयो ।
सभापति पुनले देशकै धरोहरको रुपमा रहेको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय स्थल लुम्बिनीको विकासका सम्बन्धमा प्रदेश समितिले अध्ययन अनुगमन गरी काममा भएको ढिलासुस्तीका विषयमा सम्बन्धित निकाय र सरकारलाइ घचघचाउने बताउनुभयो । बुद्धजन्मस्थल लुम्बिनी सगै प्रदेशका अन्य धार्मिक, ऐतिहासिक, पुरातात्विक एवं पर्यटकीय स्थलहरुको विकास र पर्यटन प्रबद्र्धनमा समेत प्रदेश समितिले जोड दिने बताउनु भयो । कृषि, पर्यटन र उद्यमशीलता मार्फत प्रदेशबासीलाइ स्वरोजगार बनाउदै प्रदेशको विकास र समृद्धिकालागि नेपाली काँग्रेस लुम्बिनी प्रदेशले महत्वपूर्ण कार्य गर्ने पुनले बताउनु भयो ।
निर्वाचित भएको प्रमाणपत्र बुझेपछि बिहिबारै बसेको प्रदेश समितिको पहिलो बैठकले लुम्बिनी प्रदेशमा नेपाली काँग्रेसलाइ सशक्त, सुदृढ, स्वस्थ र पुनर्जागरण गर्न संगठन, सबलिकरण र रुपान्तरणका कार्यक्रम गर्ने निर्णय गरेको छ । पार्टीको आन्तरिक लोकतन्त्र मजबुद र सुन्दर पक्ष भएकाले त्यसलाइ आत्मसाथ गर्दै प्रदेश अध्यक्षका प्रतिस्पर्धी नेता भरतकुमार शाहलाइ प्रदेश कार्यसमितिको दोश्रो वरियतामा राख्ने लगायतका निर्णय बैठकले गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश कार्यसमितिका सहमहामन्त्री निमा गिरीले निर्णय प्रस्तुत गर्नुका साथै सभापति पुनले प्रदेशको प्रथम अधिवेशन सम्पन्न गर्न योगदान पुर्याउने नेपाली काँग्रेसका सम्पुर्ण प्रतिनिधि, नेता, निर्वाचन समिति, व्यवस्थापन समिति, पार्टीको रुपन्देही जिल्ला कार्यसमिति लगायतलाइ धन्यवाद दिनुभयो ।
