संसार पोष्ट
बुटवल, १२ साउन । लेखक सञ्जय काउछा मगरको ‘जिन्दगी’ कथा संग्रह सार्वजनिक भएको छ । विगतमा नेपाली चलचित्रका कथा लेखन गरिसकेका काउछाको साहित्यिक कथा संग्रह भने पहिलो हो । कथा संग्रहको गजलकार एवं प्राज्ञ बुंद रानाले बुटवलमा एक समारोहबीच विमोचन गर्नुभएको हो । सो अवसरमा बोल्दै प्राज्ञ रानाले हरेक साहित्य मानव जीवनसंग सम्बन्धित र जीवन्त हुनुपर्ने औंल्याउंदै लेखक काउछामा पनि जीवन्त साहित्यिक प्रतिभा रहेको बताउनुभयो । पुस्तकको समीक्षा गर्दै साहित्यकार हुमाकान्त पाण्डेले ‘जिन्दगी’मा रहेका कथाहरु सामाजिक यथार्थतामा आधारित, सरल, रोचक र अनौपचारिक शैलीका भएका बताउनुभयो । पहिलो कृतिबाटै लेखकको साहित्यिक कला उजागर भएको भन्दै समिक्षक पाण्डेले लेखनलाई निरन्तरता दिन सुझाव दिनुभयो । पुर्व सांसद एवं साहित्यकारहरु रामचन्द्र भट्टराई र देबेन्द्र घिमिरेले समाज रुपान्तरणमा साहित्य र साहित्यकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
लेखक काउछाले स्कूल पढ््दादेखि नै साहित्यमा रुचि भएको स्मरण गर्दै २०५६ सालदेखि कथा लेख्न शुरु गरेको र २०७५ सालमा दुर्घटनामा परेर अस्पतालमा बस्दाको समयसम्म आइपुग्दा आठ वटा कथा पुगेपछि पुस्तकका रुपमा प्रकाशन गरेको बताउनुभयो । काउछाले यसअघि मगर चलचित्र ‘फेच्र्ह नमखान’ र नेपाली कथानक चलचित्र ‘डु यु लभ मि’ को कथा लेख्नुभएको थियो । कार्यक्रममा गजलकार रोहित रानाको विशेष गजल वाचन रहेको थियो । गजल सागर नेपालको आयोजना र लायन्स क्लब अफ बुटवल क्षितिजको सहआयोजनामा भएको कार्यक्रममा मिन रानाको अध्यक्षता, हरिप्रसाद पौडेलको स्वागत र कृष्ण गाउँलेले सञ्चालन गर्नुभएको थियो ।
