बुटवल, १० पुस । नापतौल तथा गुणस्तर क्षेत्रीय कार्यालय बुटवलका प्रमुख शम्भु कुमार झाले ब्यवसायीले कुनै गुनासो नगर्ने गरी काम गर्ने बताउनु भएको छ । बिराटनगरबाट सरुवा भई हालै बुटवल आउनु भएका प्रमुख झाले कसैको दवाव र भनसुनका आधारमा नापतौल ऐन आकर्षित नहुने भन्दै कार्यालयले गल्ती कमजोरी प्रमाणित नगरेसम्म कुनैपनि ब्यवसायीलाई अनावश्यक दुख नदिने बताउनु भयो ।
पश्चिमाञ्चल पेट्रोलिय डिलर्स एशोसिएसन बुटवलले उहांका सम्मानमा आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख झाले पेट्रोलियम बयवसाय संचालन गर्न जति सहज छ त्यो भन्दा बढि जोखिम र सम्बेदनशिल भएकाले नियतवस गल्ती कमजोरी नगर्न ब्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
ब्यवसायी मैत्री वातावरण निर्माण गरेर काम गर्ने भन्दै उहांले ब्यवसायीहरुले पनि नियम कानुनको पालना गर्दै उपभोक्ता मैत्री वातावरण वनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पश्चिमाञ्चल पेट्रोलिय डिलर्स एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले प्राविधिक रुपमा हुने कमी कमजोरीलाई लिएर ब्यवसायीहरुलाई कारवाही गर्न नहुने बताउनु भयो । एशोसिएसनमा तीन सय बढि ब्यवसायी आवद्ध रहेका भन्दै अध्यक्ष न्यौपानेले बेलाबेलामा एशोसिएसनले पनि नापतौल, इन्धनको पुरा परिमाण र मेशिनमा आउन सक्ने समस्याका बारेमा ब्यवसायीहरुलाई सचेत गराउंदै आएको बताउनु भयो । नापतौल कार्यालयको आधिकारिक प्राविधिक नहुंदा पम्पको मेशिन विग्रेमा वनाउन समस्या हुने गरेको भन्दै उहांले सेवा सुचारु गर्न भारतीय प्राविधिकबाट काम लिनु पर्ने बाध्यता रहेकोबताउनु भयो ।
कार्यक्रममा एशोसिएसनका संस्थापक अध्यक्ष राजेन्द्र गुप्ता, बरिष्ठ उपाध्यक्ष हिमाल गैरे, महासचिव हरिराम कसौधन, ब्यवसायीहरु राजु न्यौपाने, ढुण्डिराज अधिकारी, डांसिराम अधिकारी, गोपाल बस्याललगायतले नेपाल आयल निगमबाट ट्यांकरमा आउने ईन्धनको परिमाण कम हुने गरेको भन्दै चेक जांचमा कडाई गर्न आग्रह गर्नुभयो । चार हजार लिटर पेट्रोल खरिद गर्दा ४० लिटर र डिजलमा ७० लिटरसम्म कम आउने गरेको भन्दै ब्यवसायीहरुले नापतौल तथा गुणस्तर कार्यालयले यस्ता ट्याँकर चेकिङ गरेर ब्यवसायीले पुरा परिमाणमा ईन्धन पाउने वातावरण निर्मा गर्न आग्रह गरेका छन् । उनीहरुले भारतमा हुंदै आएको ट्याँकरको क्यालिब्रेसन (ट्यांकरमा कति तेल अटाउंछ भनेर गरिने नाप) नेपालमै गर्ने वातावरण निर्माणका लागि नेपाल आयल निगमसंग समन्वय गर्न पनि कार्यालय प्रमुख झा संग आग्रह गरेका छन् ।
विमा समितिसंग अन्तरक्रिया
पश्चिमाञ्चल पेट्रोलिय डिलर्स एशोसिएसनले सिद्धार्थ इन्स्योरेन्स लिमिटेड संग विमा सम्वन्धि अन्तरक्रिया गरेको छ । ब्यवसायीहरुका पम्प, पम्पमा कार्यरत कर्मचारी र सवारी साधनको विमा गर्दा इन्स्योरेन्स कम्पनीले दिने सेवा सुविधाका विषयमा अन्तरक्रिया गरेको हो ।
सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले आयोजना गरेको कार्यक्रममा एशोसिएसनका अध्यक्ष प्रेम न्यौपाने, बरिष्ठ उपाध्यक्ष हिमाल गैरे, महासचिव हरिराम कसौधन, सचिव गोपाल बस्याल, सदस्य प्रेम गैरे लगायतले विमा कम्पनीहरुमा सम्झौता अनुसार काम नगर्ने, कागजपत्र उपलब्ध गराएको लामो समयसम्म विमा दावी भुक्तानी नगर्नेजस्ता समस्या रहेको भन्दै सिद्धार्थ इन्स्योरेन्सको विमा पोलिसीका बरेमा जिज्ञासा राख्नुभएको थियो ।
कार्यक्रममा सिद्धार्थ इन्स्योरेन्सका लुम्बिनी प्रदेश प्रमुख यमप्रसाद तिवारी लगायतले ब्यवसायीले उठाएका समस्या र जिज्ञासाका बारेमा जानकारी गराउदै सिद्धार्थले ब्यक्ति तथा फर्म संग गरिएको विमा सम्झौता अनुसार नै विमा दावी भुक्तानी गर्ने बताउनु भयो । उहांले एक करोड सम्मको विमा दावीको भूक्तानी कागजपत्र उपलब्ध भएको एक हप्तामा उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भयो । एक करोड भन्दा माथीको विमा दावीको अवस्थामा कागज पत्र उपलब्ध भएपछि विमा पोलिसी अनुसार ब्यक्ति वा ब्यवसायीले गुनासो नगर्ने गरी जतिसक्दो छिटो भुक्तानीको ब्यवस्था मिलाउने बताउनु भयो ।
