मेलामा ५० करोड कारोबार हुने अपेक्षा
बुटवल, ७ पुस । यही पुस ८ गते विहिवार देखि बुटवलमा सञ्चालन हुन लागेको चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाको तयारी पुरा भएको छ । उद्योग ब्यापार संघ बुटवलको आयोजनामा बुटवल देवीनगर रंगशाला नजिकको खुलाचौरमा पुस २० गतेसम्म सञ्चालन हुने मेलाको बिहीबार दिउसो २ बजे उद्घाटन हुने कार्यक्रम तय भएको छ ।
‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण’ भन्ने मूल नाराका साथ सञ्चालन हुने मेलाको तयारी पुरा भएको र बिहीबार बिहान बुटवल देवीनगर चौपारीबाट झांकी सहितको ¥याली निकालेर दिउसो २ बजेपछि उद्घाटन गरिने आयोजक उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष गोबिन्दराज गैरेले जानकारी गराउनु भयो । मेलाले देशभरका उद्योगका उत्पादन एकैथलोमा उपभोक्तासम्म पु¥याउने र ब्यापार विविधकरणमा सहयोग पुर्याउने अध्यक्ष गैरेको भनाई छ ।
मेलामा स्वदेशी तथा विदेशी उद्योग, कृषि र पर्यटनका करिब ४ सय ७० स्टल रहने उद्योग ब्यापार संघ बुटवलका उद्योग उपाध्यक्ष विष्णु पाण्डेले बताउनुभयो । आयोजकका अनुसार मेलामा महिला उद्यमी, हस्तकला, कृषि र पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइएको छ ।
मेला सम्पन्न गर्न अस्थायी संरचनाहरु निर्माणमा ८० लाखदेखि १ करोडसम्म खर्च हुने र मेला अवधिभर करिब ५० करोड कारोबार हुने संघका महासचिव पदम जीसीले जानकारी दिनुभयो । दुई वर्षसम्म मेला महोत्सव नभएकाले यो मेलामा ५ लाख बढी दर्शक सहभागि हुने अपेक्षा आयोजकले गरेका छन् ।
मेलामा एक लाख पुरस्कार राशीको डान्स आइडल, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, मम्मी डान्स र हरेक दिन विभिन्न विधाका राष्ट्रिय कलाकारको प्रस्तुति लगायतका आकर्षण रहने सांस्कृतिक संयोजक यमलाल मरासिनीले बताउनुभयो ।
दुई वर्षसम्म मेला महोत्सव नहुंदा शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन र नेपाली कला संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनमा ब्यापार मेलाले टेवा पु¥याउने अपेक्षा गर्न सकिन्छ ।
