बुटवल, ७ पुस । अभिभावक बिहीन तथा असहाय बालवालिकाको लागि रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा सञ्चालित रामचन्द्र मैनादेवी अनाथ आश्रमले ५० लाखको अक्षय कोष स्थापना गरेको छ ।
सडक बालवालिकादेखि अभिभावक बिहीन बालबालिकाको संरक्षणका लागि २०५३ सालमा आश्रम स्थापना गरिएको हो । बुधबार आश्रमको २५ औं साधारण सभामा बोल्ने जनप्रतिनिधि, समाजसेवी, विभन्न आमा समूहका अध्यक्ष तथा प्रतिनिधिहरुले आश्रम सञ्चालनका लागि सहयोग जुटाउने प्रतिवद्धता जनाएका छन् ।
अभिभावक बिहीन बालवालिकाको नैसर्गिक अधिकारका लागि सबै प्रकारका सहयोग जुटाउने प्रतिवद्धता उनीहरुले जनाएका छन् ।
कार्यक्रममा बोल्दै तिलोत्तमा वडा नम्बर ६ का वडाध्यक्ष सुकदेव न्यौपानेले अनाथ बालवालिकाहरुको संरक्षणका लागि आश्रम सञ्चालनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयोे । तिलोत्तमा नगरपालिका बालमैत्री नगरपालिका घोषणा भैसकेकाले अब बालवालिकाका हरेक अधिकार र सुविधाप्रति सहयोग पुग्ने अध्यक्ष न्यौापनेले बताउनु भयो । बालवालिकाहरुको पालनपोषणदेखि शिक्षा, स्वास्थ्य र अन्य अधिकारको विषयमा नगरपालिकाबाट सहयोग हुने समेत उहांले बताउनु भयो ।
आश्रमकी अध्यक्ष मैनादेवी भण्डारीले आश्रम सबैको सम्पति भएको उल्लेख गर्दै सबैको आर्थिक र भौतिक सहयोगबाट आश्रमले गति लिएको बताउनु भयो । अध्यक्ष भण्डारीले आश्रमको अहिले ५० लाख अक्षयकोष रहेको जानकारी गराउंदै कोरोना महामारीका कारण एक करोड पुराउने लक्ष्य पुरा हुन नसकेको र आगामी दिनमा पुर्याउने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा तिलोत्तमा मिडिया क्लवका अध्यक्ष लक्ष्मण पौडेल, समाजसेवी रमेश पाण्डे, बर पिपल महिला समूहकी अध्यक्ष कमला आचार्य पोखरेल, फोरस्टार सहकारीका अध्यक्ष रामलाल तिवारी, पत्रकार कृष्ण ढकाल, प्रकृति भट्टराई, सीता वास्ताकोटी लगायतले बोल्दै अनाथ बालवालिकाका लागि आश्रम सञ्चालनमा सबैको सहयोग आवश्यक पर्नेमा जोड दिनुभएको थियो ।
