भैरहवा, ३० भदौ । रुपन्देहीको लुम्बिनी क्षेत्रमा रहेर पत्रकारिता गर्दै आउनु भएका पत्रकार बिन्दुकुमार चौहानको मृत्यु भएको छ ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य तथा महासंघ रुपन्देहीका पुर्व कार्यसमिति सदस्य चौहानको मंगलबार राती १२ बजे उपचारका क्रममा मृत्यु भएको पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलले जानकारी दिनुभयो । निमोनियाको समस्या देखिए पछि ४९ वर्षीय चौहानको युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसिएमएस)भैरहवामा उपचार भैरहेको थियो ।
लुम्बिनी क्षेत्रमा रहेर पत्रकारिता गर्दै आउनुभएका चौहानलाई तीन दिन अघि निमोनिया देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरिएको थियो । तर, स्वास्थ्य अवस्था थप गम्भीर भएसँगै युनिभर्सल कलेज अफ मेडिकल साइन्स भैरहवामा भर्ना गरिएको थियो ।
विगत दुई दशकदेखि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेर पत्रकारिता गर्दै आउनुभएका चौहानका श्रीमती, चार छोरा र तीन छोरी रहेका छन् । पत्रकार चौहानको निधनप्रति नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति, महासंघ रुपन्देही शाखा, नेपाल प्रेस युनियन रुपन्देही, नेपाल प्रेस संगठन, प्रेस चौतारी, प्रगतिशिल पत्रकार संघ लगायतका पेशागत संगठनले दुख व्यक्त गरेका छन् ।
