बुटवल, ३० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (बुधबार) बुटवल आउदै हुनुहुन्छ । पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओली बुटवल आउन लाग्नुभएको हो । केहिदिन देखि देश दौडाहमा निस्कनुभएका अध्यक्ष ओलीले मंगलबार आफ्नो गृहजिल्ला झापामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्नुभएको थियो ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टर (रङ्गशाला) नजिकैको खुला मैदानमा रुपन्देही जिल्ला स्तरीय कार्यकर्ता भेला आयोजना गरिएको एमाले रुपन्देही प्रचार विभाग प्रमुख मोहन चापागाईले जानकारी गराउनु भयो । उहांका अनुसार भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य टोप बहादुर रायमाझी, केन्द्रीय सदस्य महेश बस्नेत लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
भेलाको ब्यवस्थापकीय तयारी सबै पुरा भएको र भेलामा जिल्लाका १६ वटै स्थानीय तहका अगुवा नेता कार्यकर्ताहरु सहभागी हुने पार्टीे जिल्ला सचिवालय सदस्य ऋषिराम पाण्डेले बताउनु भयो ।
एमाले रुपन्देही अध्यक्ष शिब सुबेदीका अनुसार एमाले लुम्बिनी प्रदेश कमिटी बैठकले पार्टी विभाजनका नाममा अलमलमा परेका नेता कार्यकर्तालाई स्पष्ट पार्न निर्देशन दिए बमोजिम जिल्लामा बृहत् भेला आयोजना गरिएको हो ।
यस्तै गुल्मीको तम्घासमा आज आयोजना गरिएको अगुवा कार्यकर्ता भेलालाई एमाले नेताहरु प्रदीपकुमार ज्ञवाली र गोकर्णराज विष्टले सम्बोधन गर्नुहुने छ । नेताद्वय ज्ञवाली र विष्टले दिउँसो साढे १ बजे सदरमुकाम तम्घासको इन्द्रेणी पार्टी प्यालेसमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रमका लागि दुबै नेताहरु सदरमुकाम तम्घास आइपुगेका नेकपा एमाले गुल्मी जिल्ला कमिटी अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिनुभयो ।
