संसार पोष्ट
सैनामैना, ७ साउन । युवाहरुको ब्यक्तित्व तथा नेतृत्व विकासमा क्रियाशिल सैनामैना जेसिज सामाजिक क्रियाकलापमा पनि सक्रिय छ । जेसिजले सामाजिक उत्तरदायित्व अन्तर्गत मंगलबार सुस्तमनस्थिति बाल विद्या मन्दिरलाई शैक्षिक सामाग्री तथा साउण्ड सिष्टम प्रदान गरेको छ ।
सैनामैना नगरपालिका वडा न.८ मा रहेको उक्त बाल विद्या मन्दिरमा रहेका विद्यार्थीहरुलाई जेसिजले करिब २५ हजार बराबरको शैक्षिक सामाग्री र एक थान साउण्ड सिष्टम प्रदान गरेको हो ।
विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा साउण्ड सिष्टम प्रदान गर्दै सैनामैना नगरपालिका उपप्रमुख विना रानाले युवापुस्तालाई ब्यक्तित्व तथा नेतृत्व विकासमा उत्प्रेरणा प्रदान गर्दै आईरहेको सैनामैना जेसिजले सामाजिक क्षेत्रमा पनि योगदान पुर्याएकोमा संस्थाको प्रशंसा गर्नुभयो । उहांले नगरपालिकाले अपांगता भएका ब्यक्तिहरुको तथ्याङ्क संकलन गरिरहेको जानकारी दिदैँ समाजमा रहेका यस्ता ब्यक्तिहरुको जिवनस्तर उकास्ने काममा नगरपालिकाले योजना वनाएर काम गर्ने बताउनुभयो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा सैनामैना वडा न.८ का अध्यक्ष रामशरण न्यौपाने, सैनामैना जेसिजका संस्थापक अध्यक्ष रामप्रसाद अधिकारी, मन्दिरका अध्यक्ष शिवलाल पोख्रेल लगायतले बोल्दै सवैमा सहयोग गर्ने भावनाको विकास गर्नुपर्ने बताउनुभयो ।
जेसिजका अध्यक्ष सुवास पौडेलले विगतका वर्षमा जस्तै यस वर्ष युवाहरुमा नेतृत्व विकास गराउँदै सामाजिक उत्तरदायित्व समेत बहन गर्दै अघि बढ्ने बताउनुभयो ।