प्रधानमन्त्री ओलीले संबिधान र लोकतन्त्र माथि घात गरे : नेता खाँण
भैरहवा, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा चरणवद्ध आन्दोलनमा उत्रिएको नेपाली काँंग्रेसले भोली देशका ७७ वटै जिल्लामा एक साथ बिरोध सभाको आयोजना गरेको छ । अन्य जिल्लामा जस्तै नेपाली काँग्रेस रुपन्देहीले जिल्लाको सदरमुकाम भैरहवामा संसद विघटनको विरोधमा बिरोध सभाको आयोजना गरेको छ । सभालाई नेपाली काँग्रेसका केन्द्रिय सभापति शेर बहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।
नेपाली काँग्रेस रुपन्देहीले आज भैरहवामा पत्रकार सम्मेलन गरी विरोधसभाको तयारीका बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व रक्षामन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधान र लोकतन्त्र माथि नै घात गरेकाले नेपाली काँग्रेसले त्यसको बिरोधमा उत्रेको बताउनुभयो । संविधान प्रदत्त मौलिक अधिकारहरुको समेत हनन् गरी देशमा कम्युनिष्ट शासन सत्ता कायम गर्न प्रतिनिधि सभा बाधक बनेकाले ओलीले सनकको भरमा संसद नै बिघटन गरिदिएको पुर्व रक्षामन्त्री समेत रहनुभएका नेता खाँणले बताउनु भयो । लोकतन्त्र र संंविधानको रक्षा गर्दै कम्युनिष्ट सरकारको अधिनायकबाद र सर्बसत्ताबाद बिरुद्ध नेपाली काँग्रेसले बिरोध कार्यक्रम आयोजना गरेको नेता खाँणले बताउनु भयो ।
विरोधसभाको तयारीका विषयमा जानकारी दिन आज भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका जिल्ला सभापति अब्दुल रज्जाकले बिरोध सभालाइ पार्टीका केन्द्रिय सभापति शेरबहादुर देउवा सहित केन्द्रिय सदस्य बालकृष्ण खाँण, संघिय संसदका लेखा समिति सभापति भरत कुमार शाह लगायतका नेताहरुले सम्बोधन गर्ने जानकारी दिनुभयो । सोमबार बिहान ११ बजे भैरहवाको बुद्धचोकबाट ¥याली शुरु भई नारायणपथ, मिलनचोक हुदै हनुमान मन्दिरमा पुगेर र्याली बिरोध सभामा परिणत हुने जिल्ला सभापति रज्जाकले जानकारी गराउनुभयो । संविधानको रक्षाका लागि आयोजना गरिएको विरोधसभामा स्वतःस्फूर्त रुपमा लाखौं जनता सहभागि हुने उहांले बताउनु भयो । कम्युनिष्टहरुले पैसाको भरमा भिड जम्मा गरे पनि नेपाली काँग्रेसले त्यस्तो नगर्ने उहांको भनाई थियो ।
ओली सरकारको प्रतिगामी कदमको बिरोध र संविधानको रक्षाको लागि सबै लोकतान्त्रिक शक्तिहरुलाई काँग्रेसको बिरोध सभाप्रति ऐक्यवद्धता जनाउन भोलीको कार्यक्रममा सहभागि हुन नेपाली काँग्रेस रुपन्देहीका प्रचार विभाग संयोजक विश्वेश्वर प्रसाद बश्यालले पत्रकार सम्मेलन मार्फत जिल्लावासीलाई आह्वान गर्नुभयो ।