तिलोत्तमा, २ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले आईतबार रक्तदान कार्यक्रम गरेको छ । रक्त सञ्चार केन्द्र बुटवल र विद्यालयको रेडक्रस सर्कलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा २५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक राजेन्द्र के.सी. ले जानकारी दिनुभयो ।
विद्यालयको सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम गरिएको भन्दै विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीमा मानवीय सेवाभावको विकास गर्न यसले मद्धत गर्ने बताउनुभयो ।
यस्तै विद्यालयले बालबालिकामा पढाई क्षमताको विकास गर्ने उद्धेश्यले कक्षा ३ सम्म अध्ययनरत विद्यार्थीहरुको लागि पढाइ महोत्सव गरेको छ । अभिभावकहरुको सहभागितामा आयोजित कार्यक्रममा पूर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, विद्यालयका अध्यक्ष शरद भट्टराई, प्रधानाध्यापक कुलप्रसाद लामिछाने, प्राथमिकतह संयोजक बसन्ती भण्डारी, कार्यक्रम संयोजक कोपिला शर्मा लगायतले बोल्दै यस प्रकारको कार्यक्रमले विद्यार्थीहरुमा पढाईप्रति आकर्षण र क्रियाशिलता बढाउने धारणा राख्नुभयो ।
यसैबीच, विद्यालयमा विद्यार्थीहरुले तयार पारेका विज्ञान सामाग्रीहरुको प्रदर्शनी तथा स्वास्थ्य सचेतना कार्यक्रम समेत गरिएको छ । विभिन्न सामाग्रीहरु १० वटा स्थलमार्फत प्रदर्शनीमा राखिएको र यसले विद्यार्थीको सृजनात्मक क्षमता बढाउन मद्धत पुगेको प्रदर्शनीका संयोजक शारदा पाण्डेयले बताउनुभयो ।
यसैगरी आईतबार भएको हाजिरी जवाफमा सिनियर तर्फ हेमन्त भण्डारी, सुयोग भण्डारी र आयुषा बस्यालको समूह प्रथम, सन्जिव भण्डारी, उत्सव पाण्डे र दिपसिखा कोईरालाको समूह द्वितीय र अनिल पौडेल, निरुता कार्की र कल्याण गौतमको समूह तृतीय भएको कार्यक्रम संयोजक मोहन पौड्यालले बताउनुभयो । कार्यक्रममा क्विज मास्टरको भूमिका सीता गौतम र सुबोध खनालले गर्नुभएको थियो । यस्तै जुनियरतर्फ आशिष खरेल, संगम श्रेष्ठ र समिक्षा ज्ञवालीको समूह प्रथम, सर्जक खनाल, सञ्जय भट्टराई र सुधा पौडेलको समूह द्वितीय तथा शंकर भुर्तेल, निशा खनाल र सृष्टि पोखरेलको समूह तृतीय भएका छन् ।
यसैबीच शिक्षक कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटवल खेल भएको छ । खेलमा सहायक प्रधानाध्यापक किशोर कुमार खनालको समूहले प्रधानाध्यापक कुलप्रसाद लामिछानेको समूहलाई १–० गोल अन्तरले पराजित गरेको छ । आफ्नो समूहलाई बिजेता बनाउनकालागि पुकारबाबु पाल्पालीले गरेको गोल नै निर्णायक बन्नपुग्यो ।
यसैगरी विद्यालयमा ५ हजार मिटरको म्याराथुन दौड प्रतियोगिता भएको छ । दौडमा सिनियरतर्फ छात्रमा कमल बि.क. प्रथम, बिक्रम थापा द्वितीय र सन्दिप पराजुली तृतीय भएका छन भने छात्रातर्फ जमुना राना प्रथम, प्रविना सुर्यवंशी द्वितीय र सुस्मिता कुमाल तृतीय भएका छन् । त्यस्तै जुनियरतर्फ छात्रमा रोमन थापा प्रथम, मदन सुनार द्वितीय र रामु सुनारी तृतीय भएका छन् भने छात्रातर्फ एरिका पाण्डे प्रथम, बन्दना खड्का द्वितीय र मिरा पल्ली मगर तृतीय भएको अतिरिक्त क्रियाकलाप संयोजक शुसिल पाण्डेले जानकारी दिनुभयो ।
यस्तै दृष्टीविहिन बालबालिकाको प्रोत्साहनकालागि आयोजित बे्रल लिपी लेखन प्रतियोगितामा लोकेश डाँगी प्रथम, देव कुमारी हरिजन द्वितीय र शुसिला थारु तृतीय भएका छन् ।
सप्ताहव्यापी कार्यक्रम अन्तरगत फागुन ३ गते पुरस्कार वितरण र फागुन ४ गते पूर्व मन्त्री बालकृष्ण खाँडको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव तथा अभिभावक दिवस मूल समारोह हुने विद्यालयका सूचना विभाग संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।
