प्रकाश न्यौपाने
भैरहवा, २ फागुन । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रँगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको डिभिजन (बी) को खेलमा सैनामैना क्रिकेट क्लबले प्रोफेशनल मास्टर्स ११ लाई ७ विकेटले पराजित गरेको छ । जितसँगै सैनामैना डिभिजन (ए) मा प्रवेश गरेको छ ।
टस जितेर ब्याटिङ्मा आएको प्रोफेशनलले निर्धारित ४३ ओभरको खेलमा २९.२ ओभरमा अलआउट हुँदै ९१ रन मात्रै बनायो । उसका लागि सुजन मकाजुले २८ र अमर रसाइलीले २४ रन बनाए । बलिङमा सैनामैनाका उदय पन्तले ९ ओभरमा १ मेर्डन राख्दै २५ रन खर्चेर ५ विकेट लिए । यस्तै, विशाल भुसालले २ विकेट लिए ।
जवाफी ब्याटिङ् गरेको सैनामैनाले १९ ओभर ४ बलमा ३ विकेट क्षतिमा ९२ रन बनाउँदै लक्ष्य भेट्टायो । उसका लागि सरोज पौडेलले नटआउट ४१, अंकित परियारले १६ रन बनाए । बलिङमा प्रोफेशनलका अनिल जैसवालले २ र जितेन्द्र साहनीले १ विकेट लिए । खेलमा उदय पन्त म्यान अफ द म्याच घोषित भई पुरस्कृत भए ।
सोमबार शँकरनगर क्रिकेट क्लब र ज्ञानोदय क्रिकेट क्लबबिच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी गराउनु भयो ।
प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदियमान खेलाडीलाई ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स रहेका छन् ।
